काठमाडौँ । काँग्रेस उपसभापति एवं पूर्व कानूनमन्त्री धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिएका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप धनराज र उनकी श्रीमती ज्योति गुरुङमाथि लागेको छ । यद्यपि गुरुङले भने ज्योतिसँग डिभोर्स गरिसकेको र आफू सहकारी ठगीमा संलग्न नरहेको बताइरहेका छन् ।
विगतमा ज्योति गुरुङ मितेरी सहकारीको प्रबन्धक रहेका बेला बचतकर्ताको करिब १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)मा उजुरी परेको छ । उक्त रकम हिनामिनामा काँग्रेस सांसद धनराजको पनि संलग्नता रहेको दाबी उजुरीकर्ता एवं सहकारीका अध्यक्ष कुम्भराज गुरुङको छ । धनराजले भने २०७६ सालमै ज्योतिसँग डिभोर्स भइसकेको र उनले गरेको कारोबारबारे आफू अनविज्ञ रहेको बताउने गरेका छन् । कानुन छल्नका लागि डिभोर्स गरेको हो कि भनेर धनराजमाथि थप आशंका समेत उब्जिएको छ । तर उजुरीकर्ताले भने उक्त रकम हिनामिना धनराज र उनकी पत्नी सगोलमै छँदाको रहेको खुलाएका छन् ।
हाल सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा अनुसन्धान गर्न गठित संसदीय छानबिन विशेष समितिमा पनि मितेरी सहकारीको विषयमा अनुसन्धान भइरहेको छ । समितिमा सहकारीका अध्यक्ष कुम्भराजको बयान लिइएको छ । बयानका क्रममा उनले धनराज र ज्योति दम्पतीले सहकारीको रकम जसरी पनि फिर्ता गर्छौं भनेर सहकारीका सदस्यसँग वाचा गरेको बताएका छन् । धनराजको उक्त ठगी संलग्नताबारे संसदमा समेत प्रश्न उठेका छन् ।
सोमबार रास्वपा सांसद गणेश पराजुलीले काँग्रेस सांसद धनराजविरुद्ध सहकारी ठगीको उजुरी परेकाले छानबिन गर्न माग गरे । सांसद पराजुलीले मितेरी सहकारीको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा सांसद धनराज गुरुङ र उनकी श्रीमतीको नाम जोडिएकोले छानबिन गर्न माग गरेका हुन् । सहकारीका अध्यक्ष कुम्भराजले ठगी गरेको दाबीसहित धनराज दम्पतीविरूद्ध उजुरी दिइसक्दा पनि उनीमाथि छानबिनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पराजुलीले प्रश्न उठाए ।
स्मरणीय छ रास्वपा सभापित रवि लामिछाने गृहमन्त्री हुँदा गत जेठमा सहकारी प्रकरणमा मुछिएको भन्दै काँग्रेस सांसदहरुले गत जेठमा संसदको वेल घेराउ गरेका थिए । रविमाथि संसदीय छानबिनको माग गर्दै महिनौँ संसद अवरुद्ध गर्नेमा काँग्रेस सांसद धनराज, गगन थापा लगायत नै अगाडि थिए । यस विषयमा काँग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले निष्पक्ष छानबिन गरिने बताएका छन् ।
मंगलवार एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले काँग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनै पनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए । उनले शक्तिशाली, सत्तासिन, नाता पर्ने जोकोही भए पनि आरोप प्रमाणित भएमा दण्ड व्यहोर्नुपर्ने बताए । संसदमा नै आफ्ना उपसभापति गुरुङमाथि प्रश्न उठेको र सो बारेमा आफूमाथि छानबिन गर्न स्वयं गुरुङले पनि आग्रह गरिसकेको भन्दै थापाले संसदीय समिति बनाएर छानिबन गर्न झनै सहज भएको दाबी गरे ।
मंगलबार धनराजले रास्वपा सांसदलाई जवाफ दिँदै सहकारी छानबिन समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी ठगीको आरोप लगाइएको बताए । संसद बैठकमा विशेष समय लिएर उनले रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानबिन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि आरोप लगाएको जिकिर गरे । उनले आफूमाथि आशंका भए तत्काल छानबिन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए । आफूले निष्ठा, नैतिकता र सुशासन प्रदर्शन गर्दै आएको जिकिर गर्दै गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीका पदाधिकारीमाथि पनि छानबिन गर्न माग गरे । श्रीमती ज्योतिसँग डिभोर्स गरिसकेको उनको भनाइ थियो ।
गत असार १२ गते धनराजले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारको प्रमाण देखाए मात्रै पनि राजनीतिबाट सन्यास लिने बताएका थिए । उनले भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर काँग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने उनको भनाइ थियो । धनराज तिनै व्यक्ति हुन् जसमाथि विगतमा उनी सांसद छँदा रातो पासपोर्ट (कूटनीतिक राहदानी) बिक्री गरेकोे अभियोग लागेको थियो । त्यसबेला गठित सरकारी छानबिन समितिले पनि प्रतिवेदनमा उनको नाम किटान गरेको थियो । अहिले सहकारी ठगीमा संसदमै प्रश्न उठिसकेपछि, प्रहरीमा उजुरी पनि परिसकेपछि र आरोपित व्यक्ति स्वयंले छानबिन गर्न चुनौती दिइसकेपछि अब धनराज गुरुङमाथि पनि संसदीय छानबिन हुनुपर्छ । दोषी देखिएमा उनले पनि सजाय भोग्नु नै पर्छ ।