मकवानपुर । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गरि मेघा विद्यालय सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ ।
शिक्षा मन्त्रालयले ‘बिग स्कूल’ को अवधारणामा छलफल चलाउन थालेपछि हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफल सुरु भएको हो ।
हेटौंडाका दुई ठूला भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र आधुनिक राष्ट्रिय मावि एकीकृत गर्ने विषयमा छलफल अघि बढेको छ । हेटौंडाको उपमहनगरपालिका–४ नम्बर वडामा रहेको यी दुई विद्यालयसँगै जोडिएको अवस्थामा छन् । विद्यालयहरु एकीकृत गरी शैक्षिक हबको रुपमा विकास गर्ने लक्ष्य राखेर यस विषयमा छलफल अघि बढाइएको हो ।
हेटौंडा बागमती प्रदेशको राजधानी भएका कारण मेघा विद्यालय सञ्चालन गरी हेटौंडालाई शैक्षिक हब बनाउने गरि अगाडि बढ्न खोजेको हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देल बताउँछन् ।
त्यसोत, हाल आधुनिक राष्ट्रिय माविमा करिब ३ हजार विद्यार्थी छन् भने भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन् । आधुनिक मावि विगत १५ वर्षदेखि देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरु मध्ये एक हो ।
भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुवै उत्कृष्ट विद्यालयलाई एकीकृत गर्दा चुनौती पनि उत्तिकै रहेको बताइएको छ ।
यता, भुटनदेवी र आधुनिक एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्ने विषयमा हाल प्रारम्भिक छलफल चलेको हेटौंडा उपमहानगरपालिकाको तर्क छ । यो काम चुनौतीपूर्ण भए पनि दुबै विद्यालय एकीकृत गरी राम्रोसँग व्यवस्थापन गर्नसके नमुना विद्यालयको रुपमा परिचित गर्न सकिने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने बताउँछन् ।
दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने, हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने दाबी गरिएको छ ।