News 24 Television
पहिलो टेलिभिजन बहसमा उत्रिए ट्रम्प र ह्यारिस, आरोप–प्रत्यारोपमै सकियो ९० मिनेट

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा छन् । चुनावी तयारीकै रुपमा लिइने टेलिभिजन बहसमा बुधवार दुवै जता उत्रिए । करिब डेढ घण्टासम्म चलेको बहसमा राम्रै घोचपेच र आरोप–प्रत्यारोप चल्यो । आफुलाई अब्बल देखाउन चुनावी मुद्दामा कसले के भने ? 

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो पटक बुधवार टेलिभिजन बहसमा आमनेसामने भएका हुन् । बहसमा दुवै मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन् । 

डेढ घण्टा चलेको बहसमा दुवैले एकअर्कालाई प्रशस्तै घोचपेच गरे अनि आरोपका चाङहरु नै थुपारे । ह्यारिसले खुलेरै ट्रम्पविरुद्ध आक्रोश पोखिन् भने ट्रम्पले पनि भ्याएसम्म आरोपहरु ह्यासिमाथि थोपरे । सबैको अनुमान अनुसार नै बहसमा ट्रम्प नै ह्यारिसभन्दा आक्रामक र आक्रोशित देखिए ।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको बहसको पहिलो ३० मिनेटमा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए । प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिको तथ्य जाँच गरिरहँदा उनले आफ्नो बचाउमा निकै समय खर्चिएका थिए । 

ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका ¥यालीहरूमा मानिसहरु कार्यक्रम नसकिदै निरास हुँदै बाहिरिने गरेको कुरा उठाएर ट्रम्पलाई कमजोर देखाउन खोजिन् । 

उता ट्रम्प पनि के कम, ह्यारिसको डेमोक्रयाटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको भन्दै गम्भिर आरोप लगाए । बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्प ह्यारिसमाथि थप खनिए । 

मुख्य मुद्दामा कसले के भने?

राष्ट्रपतीय उम्मेदवारहरूले अमेरिकी अर्थतन्त्रबाट बहस सुरु गरेका थिए जस क्रममा पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिएका थिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूबारे कुरा गरिन् । गर्भपतन अधिकारका विषयमा ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन् । 

ट्रम्पले बारम्बार आप्रवासन सङ्कटको कुरा उठाइरहँदा ह्यारिसले दर्शकहरूलाई पूर्वराष्ट्रपतिमाथि अदालतमा चलिरहेका कैयौँ मुद्दाबारे स्मरण गराइन्् । ट्रम्पले ह्यारिसलाई इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति भन्दै युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप लगाए । 

युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले युद्धको अन्त्य चाहेको जबाफ दिए । इजरायलका विषयमा ट्रम्पले यदि आफू राष्ट्रपति भएका भए र ह्यारिसले दुई राज्यको समाधान र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै हुँदैनथ्यो भन्ने जवाफ दिए । 

अमेरिकी संसद् भवनमा भएको ६ ज्यानुअरीको दङ्गाका बारेमा सोधिँदा ट्रम्पले त्यसबारे आत्मालोचना गर्न अस्वीकार गरे भने ह्यारिसले उक्त दिनको अव्यवस्थालाई सम्झँदै अमेरिकालाई पाना पल्टाउन आह्वान गरिन् । 

एबीसीले अन्य टेलिभिजन नेटवर्कहरूलाई प्रशारण गर्न अनुमति दिएको बहसमा उम्मेदवारहरूलाई प्रश्नको जवाफ दिन २ मिनेट, खण्डनका लागि २ मिनेट र फलोअप तथा स्पष्टीकरणका लागि थप १ मिनेट समय दिइएको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update