News 24 Television
आर्थिक वर्ष २०८०\०८१ को समीक्षा, देखिए काठमाडौँ महानगरमा यस्ता सुधार

काठमाडौं । ठूला कार्यक्रम र योजनाबाट मात्र प्रगति देखिन्छ भन्ने होइन । कतिपय ठाउँमा साना कार्यक्रमले पनि ठूलो प्रभाव राख्न सक्छ । त्यसको उदाहरण बन्दै छ काठमाडौं महानगरपालिका । 

महानगरले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक समीक्षा गरेको छ । जसमा महानगरले विकास निर्माणको कार्यलाई तिब्रता दिएको देखिन्छ । योसँगै महानगरले प्रतिबद्धता गरेअनुसार श्रम बैङ्कमा आवद्ध भएका आठसय ५७ जनालाई रोजगार पनि बनाएको छ । त्यस्तै महानगरपालिकाको पुँजीगत खर्च बढेको देखिन्छ भने चालु खर्च घट्नु सकारात्मक सूचक हो । 

यस वर्ष विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०१ प्रतिशत खर्च भएको छ । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो । 

सामाजिक विकासका कार्यक्रममा ६०.२२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०८०\८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६\७७ का लागि विनियोजित बजेट बराबर हो । 

महानगरले गरेका मुख्य कार्य

–    महानगरभित्र ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्रे 

–    १० दशमलव ३१ किलोमिटर सडक ढलान र १२ दशमलव २५ किलोमिटर ढल राखियो

–    ३२.४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७७७ वर्ग मिटर ढुङ्गा छापियो 

–    ३ दशमलव १८ किलोमिटर रिटेनिङ् वाल लगाइयो 

–    सार्वजनिक निर्माणअन्तर्गत १६ वटा भवन निर्माण सम्पन्न 

–    ९ वटा पार्क निर्माण 

–    व्यक्तिले कब्जा गरेको ३३ रोपनी भन्दा धेरै सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त 

–    विष्णुमती, रुद्रमती (धोवीखोला), भचाखुशी, टुकुचा, सामाखुशी, बल्खु, करखुशी र मनोहरासहितका नदीहरुको विशेष सरसफाई 

–    श्रम बैङ्कमा आवद्ध भएका ५ सय २८ जनालाई महानगरपालिकाभित्र र ३२ सय ९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान 

–    ४० माइक्रोनभन्दा कम तौल भएका पाताला झोलाहरुको विक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध 

महानगरले अफिस अटोमेसनअन्तर्गत इ–अफिस सञ्चालनमा ल्याइएको छ । जस प्रणालीमा अनलाइनबाट नै टिप्पणी लेख्ने, पेश गर्ने, दर्ता चलानी गर्ने प्रक्रिया हुने गरेको छ । 

इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम, इअफिस र शिफारिसका लागि ४ सय ७६ वटा डिजिटल सिग्नेचर प्रयोगमा ल्याइएको छ । 

३२ वडा कार्यालय, ३२ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, महानगर प्रहरी बल, दमकल, विभिन्न आयोजना, पार्कसहित ८५ वटा सेवा केन्द्रलाई ईन्ट्रानेट सञ्जालबाट जोडिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update