News 24 Television
कालीदहमा शुरु भयो एकीकृत जाँच विन्दु, भारतीय पर्यटक बढ्ने अपेक्षा

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको छ । 

स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा गत असार २६ मा एकीकृत जाँच बिन्दु संचालन गरिएको थियो । 

यो नाकामा जाँच बिन्दु प्रभावकारी भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकामा पनि बुधबारबाट एकीकृत जाँच बिन्दु संचालनमा ल्याएको छ ।  

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको छ । बुधबार एकीकृत जाँच बिन्दुको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरे । 

सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारण ल्याई पर्यटकप्रति सकारात्मक भाव उत्पन्न हुने र हैरानी समेत हट्ने भएकाले जिल्लामा पर्यटकीय वातावरण बन्ने प्रशासनको दाबी छ । 

बेलहियामा जस्तै कालीदहको एकीकृत जाँच बिन्दुमा पनि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकैठाउँमा जाँच गर्नेछन् । त्यसपछि उनीहरुलाई सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराइने छ भने जिल्लाभर अन्यत्र जाँच हुने छैन । तर सुरक्षाकर्मीलाई शंका लागेका बेला जुनसुकै ठाउँमा चेकजाँच नियमतबस वा अन्य बहानामा पर्यटकलाई दुःख दिने गरी नहुन बताइएको छ । पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच बिन्दु प्रभावकारी बन्नेमा विश्वास गरिएको छ ।  

पछिल्लो समय आफ्नै सवारी साधन लिएर बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रिन्छन् । कालीदहमा अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक भने बेलहिया–सुनौली नाका हुँदै भित्रनु पर्ने बाध्यता छ ।

मुलुकमै पहिलोपटक प्रशासनकै पहलमा बेलहिया र कालीदह नाकामा अहिले वाक थ्रु मेसिन राखेर त्यसबाट नेपाल भित्रिने सबै मानिसको सुरक्षा जाँच समेत गरिँदै आएको छ । छिट्टै कालीदह छोटी भन्सारबाट भारतीय सवारीको भन्सार सुविधा दिने व्यवस्था समेत मिलाइने बताइएको छ । 

कोरोना अघि यो नाकाबाट भित्रिने सवारीको भन्सार सुविधा यहीबाट दिइन्थ्यो । तर, अहिले रोकिएको हो । यसलाई पुनः संचालनका लागि प्रशासनले पहल गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update