काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सदन र सडकबाटै घेराबन्दीमा पर्दा अफ्ठ्यारोमा परेको छ । प्रतिनिधिसभामा उपसभामुखको निरन्तर राजीनामा माग र सहकारी ठगी प्रकरणमा रविमाथि तारन्तार वयान लिइँदा रास्वपा अफ्ठ्यारोमा परेको हो ।
सहकारी ठगी प्रकरणमा दलीय संघर्ष सामना गरेका रविले नचाहँदा नचाहँदै संसदीय छानविन समिति स्वीकार गर्नुपर्यो । उनले यही विषयमा समितिलाई ९ घण्टा लामो वयान पनि दिइसकेका छन् । तरपनि पोखरामा पुरक जाहेरी परेको सम्बन्धमा प्रहरीले उनलाई थप वयान लियोे । यसको प्रतिवेदन तयार भइसकेको छैन ।
यही अवस्थामै रास्वपाबाटै निर्वाचित उपसभामुख इन्दीरा रानामाथि उठेको प्रश्नले रास्वपामाथि थप संकट बढेको छ । उपसभामुख इन्दिरा रानाले असम्बन्धित व्यक्तिलाई अमेरिकाको भिसा अन्तरवार्ता मिलाइदिन आफ्नै लेडटरप्याड दुरुपयोग गरि पत्राचार गरेको विषयले अहिले संसद तातेको छ ।
हाललाई संसदमा उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा माग गरिएको छ । तर यदी स्वराजीनामा नआए उनीविरुद्ध महाअभियोग लगाउनेबारे समेत सत्तारुढ दलहरुबीच छलफल भइरहेको हो ।
सत्ताकै नेतृत्व गरिरहेको दल नेकपा एमालेले समेत आधिकारिक रुपमै यो विषय पहिलेकै भएपनि यतिको समय उपसभामुखलाई पर्खिएको तर्क गरिरहेको छ । तर अब पनि राजीनामा नआए हटाउनुपर्ने अवस्था आउनसक्ने सत्ता पक्षको चेतावनी छ । उपसभामुख विवादको विषयमा रास्वपासहित प्रतिपक्षीदलहरुले भने सत्ता पक्षले दुईतिहाइको तुजुक र लोकतन्त्रमाथि हमाला गरिरहेको व्याख्या गरेको छ ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि संवैधानिक परिषदमा बहुमत पुर्याउने खेलले उपसभामुखको कमजोरी केलाउन थालेको औल्याइरहेको छ । यदी प्रश्न उठ्दैमा राजीनमा दिनुपर्ने भए प्रधानमन्त्रीदेखि बहालवाला मन्त्रीहरुमाथि अनेकौँ प्रश्न रहेको माओवादीको टिप्पणी छ ।
उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई भीसा अन्तरवर्ताको समय मिलाउन अमेरिकी दूतावासमा लेखेको पत्रलाई जायज भन्न सकिन्न । यद्यपि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने प्रश्न उठ्दैमा राजीनमा दिनु नपर्ने भन्दै रास्वपालाई केही हदसम्म साथ दिएको छ । तर सत्ता पक्षको निरन्तर पेलानले रास्वपामाथिको दवाव कम भएको छैन ।
यही अवस्थामा सहकारी पीडितहरुले चलाएको संघर्षलेसमेत रवि र रास्वपा महासंकटमा आइपरेको छ । सहकारी ठगी प्रकरणकै कारण सभापति रवि जनताको निशानामा परेका छन् । मंगलबार मात्रै पार्टीको कार्यक्रमका लागि पोखरा पुगेका रविविरुद्ध सहकारी पीडितहरुले चर्को नारा लगाए ।
रविविरुद्ध कालो झण्डा नै देखाएका सहकारी पीडितहरुलको समूहले गोरखा मिडिया प्रालिमा लगानी भएको अनाधिकृत रकम फिर्ता गर्न माग गरेका छन् । सुरक्षामा खटिएका प्रहरी प्रशासनमाथि नै अक्रोश पोखेका पीडितहरुले रविमाथि पनि जाइलाग्ने प्रयास गरे ।
पोखरामा पीडतहको विरोध र संसदमै उपसभामुखको राजीनामा मागले दवावमा परेका सभापति रविले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
मंगलबारको संसद बैठक अघि नै उपसभामुख हटाउनेबारे सत्तारुढ दलहरुले छलफल चलाएका थिए । त्यसपछि मंगलबारको संसद बैठकमा सत्ता पक्षले चर्कै रुपमा आवाज उठाएपछि धारणा बुझ्न रवि प्रधानमन्त्री भेट्न वालुवाटार पुगेका हुन् । यसअघि सहकारी ठगी प्रकरणको वयानकाबीच पनि रविले प्रधामन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेको चर्चा चलेको थियो ।
सत्ता पक्षले संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख हटाउने र सहकारी प्रकरणमा रविलाई दोषी करार गर्न हदैसम्मको प्रयास भइरहेको प्रतिपक्षी दलहरुको आंकलन छ । तर उपसभामुखको सवालमा सत्ता पक्ष कसरी अघि बढ्छ, र सहकारी ठगी प्रकरणमा रविविरुद्ध के कस्ता प्रमाण फेला पर्छन् ? यीनै विषयले रास्वपाको भविष्य निर्धारण गर्नेछ ।