News 24 Television
पीडितले कालोझण्डा देखाएरै विरोध गरेपछि रविले के भने ?

कास्की । सहकारी ठगी आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा पीडितले कालो झण्डा देखाएका छन् । 

सहकारी ठगीमा रविको संलग्नता रहेको भन्दै पीडितले आक्रोशपूर्ण ढंगले नाराबाजीसहित कालो झण्डा देखाएपछि रवि पनि आक्रोशित बनेका छन् । 

गत पुसमा पार्टीको आमसभा चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखराको अमरसिंह चौरमा मकैको खोया प्रहार भयो । 

त्यसको आठ महिनापछि पार्टीकै कार्यक्रममा मङ्गलबार पोखरा पुगेका रविमाथि सहकारी पीडितहरूले कालो झण्डा देखाएर नाराबाजीसहित विरोध जनाएका छन् । मङ्गलबार पोखरा १७ बिरौटाको ग्यालेक्सी पार्टी प्यालेस वरपर सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । 

रवि पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रममा आउने भएपछि सुरक्षाका कारण बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो । 

रास्वपा सभापति रवि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका एक आरोपी हुन् । गत पुसमा सार्वजनिक कार्यक्रममै मकैको खोया प्रहार भएपछि उनी सार्वजनिक रुपमा पोखरा आएका थिएनन् । तर मङ्गलबार रवि पोखरा आउने भएपछि रास्वपाको कार्यक्रम स्थल वरपर बिहानैदेखि सहकारी पीडितहरू जम्मा भएका थिए । सुरक्षा व्यवस्था अत्यन्तै कडा भएपनि सहकारी पीडितहरू एक्कासी आफ्नो माग लेखिएका प्लेकार्ड बोकेर सडकमा निस्किए । 

उनीहरूले रास्वपा सभापति रवि लामिछाने विरुद्ध चर्को नाराबाजी गरेका थिए । पीडितहरू आक्रोशित भएकै समयमा कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो सुरक्षा घेरामा रास्वपा सभापति रवि कार्यक्रम स्थलमा प्रवेश गरे । यता नाराबाजी गर्दै विरोधमा उत्रिएका पीडितले कालो झण्डा निकालेर उनको विरोध गरेका थिए ।

कार्यक्रम सुरु हुनु पूर्व परिचयपत्र देखाएर पत्रकारहरूलाई प्रवेश दिइने भनेपनि रवि लामिछाने कार्यक्रम स्थल प्रवेश गरे लगत्तै पार्टी प्यालेसको मूल गेट भने बन्द गरियो र पत्रकारहरूलाई प्रवेश अनुमति दिइएन । 

यता गेट नै बन्द गरेको र रविलाई भेट्न नदिएको भन्दै सहकारी पीडितहरू थप आक्रोशित बनेका थिए । हुन त रास्वपा अहिले सरकारमा छैन, तर रविले पार्टी सभापति उपप्रधान तथा गृहमन्त्री रहँदा सूर्यदर्शन सहकारीका पीडितहरुलाई जीबी राईलाई पक्राउ गर्ने र तपाईँहरूलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर अहिले उनै रविमाथि संसदीय छानबिन समिति र कास्की प्रहरीले सहकारी ठगी आरोपमा बयान लिइसकेको छ । 

रविले सहकारी पीडितको पीडामाथि खेलवाड गरेको र जीबी राईलाई पक्राउ गर्न ढिला भएको भन्दै आफूहरुले यो आन्दोलन गर्न बाध्य भएको सूर्यदर्शन सहकारी पीडित सर्घष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् ।

पोखराको सूर्यदर्शन सहकारीबाटमात्रै १८ हजार ७ सय पीडित छन् । उनीहरुको १ अर्ब ३५ करोड बचत अपचलन भएको अनुसन्धानले देखाएको छ । सूर्यदर्शन ठगी प्रकरणमा प्रहरीले रविसँग बयान लिइसकेको छ ।

उसोतः आफूविरुद्ध पोखरामा कालोझण्डा र नाराबाजी चलेपछि रविले पार्टी बैठकमा आक्रोश पोखेका छन् । उनले आफू पनि सहकारी पीडितको पक्षमा उभिएको तर कसैको उक्सावटमा आफूविरुद्ध गलत कदम चालिएको भन्दै क्रोध पोखेका हुन् । 

रविले पोखरामा नाराबाजी भएको विषयलाई षडयन्त्रको रुपमा समेत अर्थ्याएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update