News 24 Television
दशैंअघि सडकका खाल्डा पुरिने, अन्यत्र पनि स्तरोन्नती हुँदै

काठमाडौं । यात्रुको सबै भन्दा बढी टाउको दुखाईको विषय हो, सडक । सडकभरी खाल्डाखुल्डी, असरल्ल छोडिएका निर्माण साम्रगी, कहिले हिलो त कहिले धुलोले सडकको कन्तबिजोक मात्रै दर्शाउँदैन यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर, सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । 

देशका विभिन्न सडकहरूको खाल्डोहरू दसैँअघि नै पुर्ने गरी ठेक्का आह्वान भएको जानकारी गराउँदै सडक विभागले दशैं अघि काठमाडौंका सडक खाल्डाखुल्डी रहित बनाउने लक्ष्य राखेको छ । 

हुनतः उपत्यकाका सडकको कालोपत्रे लामो समयसम्म टिक्दैन । त्यसमा पनि समयमै सडक विस्तार र मर्मत तथा खाल्डाखुल्डी नपुर्दा दुर्घटना थपिन्छन् । प्रायः मानिस कालोपत्रे सडक देख्ने बित्तिकै तीव्र गतिमा सवारी हाँक्छन् । 

सडकका खाल्डाखुल्डीको समेत वास्ता गर्दैनन् । जसका कारण दुर्घटना पनि बढ्दो क्रममा रहेको पाइन्छ । उपत्यकामा मात्रै होइन राजमार्गहरूको पनि उस्तै दुरावस्था छ । पहिरोका कारण केही राजमार्ग सुचारु हुन सकेका छैनन् । 

सवारीको सबै भन्दा धेरै चाप रहने मुग्लिङ–पोखरा, नारायणगढ–बुटबल, नागढुंगा–मुग्लिङलगायतका राजमार्गको एकै पटक स्तरोन्नती भैरहेको छ । यता सडक विभागले हेभि इक्पीप्मेन्ट डिभिजनलाई आपतकालीन समयका लागि तैनाथ राख्नेदेखि पहिरो पन्छाउन १३ करोड रकम विनियोजन गरेको छ । 

स्तरोन्नती भइरहेका सडकको काम छिटो सक्न र सहज यातायात सुचारु गर्ने विषयमा विभाग संवेदनशील रहेको भन्दै राम्रो गर्ने प्रयासमा रहेको विभागको दाबी छ । 

क्षमताभन्दा धेरै यात्रु, एकअर्काे गाडीबीच प्रतिस्पर्धा, गन्तव्यमा पुग्ने हतारो, तिव्र गति र जीर्ण सडक दुर्घटनाका कारण हुन् । जबसम्म सडक राम्रो हुँदैन, तबसम्म यात्रुहरूको यात्रा जहिले पनि कष्टकर नै हुन्छ । राज्यले विशेष गरी चाडपर्वका समयमा यातायात व्यवसायीलाई सहज र सुरक्षित यातायात सञ्चालनमा रचनात्मक वातावरण सिर्जना गनुपर्छ । 

सडक विभागले काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डी रहित र राजमार्गको यात्रा सुरक्षित बनाउँछु भन्दै गर्दा अन्य निकायले पनि समन्वय गर्न आवश्यक छ । 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update