News 24 Television
अत्यासलाग्दो आत्महत्याको ग्राफः समस्याबाट कसरी बच्न सकिन्छ ?

काठमाडौं । आत्महत्या मृत्युको प्रमुख कारण बनिरहेको छ । विश्वमै आत्महत्याको ग्राफ उकालो लागिरहेको बेला नेपालमा पनि दैनिक २० जनाभन्दा बढिले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । 

मानसिक समस्या आत्महत्याको प्रमुख कारण मानिएको बेला आत्महत्याको ग्राफ र रोकथामका लागि के गर्न सकिन्छ ? यसतर्फ बहस आवश्यक बनेको छ । 

आत्महत्या विश्वव्यापी मृत्युको प्रमुख कारण बनिरहेको छ । विश्वमा मृत्युका कारणमध्ये आत्महत्या १५ औँ स्थानमा पर्ने गर्छ । 

पछिल्लो समय नेपालमा पनि आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढेको तथ्यांकहरुले देखाएको छ । नेपालमा आर्थिक वर्ष २०८०\०८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका छन् ।  

नेपालमा दिनमा सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा शिक्षित भन्दा अशिक्षित व्यतिmहरुमा आत्महत्या दर बढि देखिन्छ । 

तथ्यांक अनुसार पढेलेखेको दाजोमा कम पढेलेखेकाहरुमा ६३ दशमलव ०१ प्रतिशत आत्महत्या दर देखिन्छ । आत्महत्या हुनुको प्रमुख कारण अशिक्षा पनि एक रहेको नेपाल प्रहरीको आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धित अध्ययन २०८१ को निश्कर्ष छ । 

प्रहरीको तथ्यांक अनुसार नेपालमा महिलाको तुलनामा पुरुषले बढि आत्महत्या गर्ने देखिन्छ । कुल आत्महत्या मध्ये ५९ दशमलव ९ प्रतिशत पुरुष तथा ४० दशमलव ९ प्रतिशत महिला रहेको देखिन्छ । 

पेशाको आधारमा हेर्ने हो भने सबै भन्दा धेरै आत्महत्या कृषि पेशामा लाग्नेहरुले गरेको देखिन्छ । तथ्यांक अनुसार कृषि पेशामा आवद्ध भएका व्यतिmहरुमा ४६ दशमलव २ प्रतिशत आत्महत्या भएको देखिन्छ । 

यसैगरी विद्यार्थीमा १५ दशमलव ४, गृहिणीमा ११ दशमलव ६, व्यापारीहरुमा एक दशमलव ९ लगायत आत्महत्या दर देखिन्छ । आत्महत्या गर्नुको प्रत्यक्ष कारणमा आर्थिक सामाजिक, धार्मिक लगायत कारण भए यसका कारण उब्जिएको मानसिक समस्या नै भएको चिकित्सक बताउँछन् । नेपालमा हुने कुल आत्महत्या मध्ये ६५ प्रतिशत आत्महत्या मानसिक समस्याका कारण हुने गरेको छ । 

जीवन अमूल्य उपहार हो  । जीवनको भोगाइमा आउने उतारचडाव जीवनका एक पाटोहरु हुन् । तर कहिलेकाही मानिसले आफ्ना समस्या समाधान गर्न नसक्दा तथा आर्थिक सामाजिक, लगायतका कारणले मानसिक तनाव बढ्दै जाँँन्छ । 

जसको कारण मानसिक समस्या बढ्दै जानुका साथै यसको व्यवस्थापन गर्न नसकेको अवस्थामा यसले आत्महत्या जस्ता घटना निम्ताउन सक्छ । 

त्यसैले जीवनमा आउने समस्या तथा आफु भित्र बढेको मानसिक समस्यालाई दबाएर राख्ने भन्दा पनि नजिकका साथीभाइ वा आफन्तसंग खुलेर बताउँदा तनाव व्यवस्थापन गर्न सकिन्छ । 

साथै कसैलाई आत्महत्या सम्बन्धि कुनै सोच आएको छ र आफ्नो साथी तथा आफ्न्तलाई सुनाउँन सकिएको छैन भने पनि राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरेर आफ्ना समस्या बारे खुलेर कुराकानी गर्न सकिन्छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update