News 24 Television
प्रधानमन्त्रीको निर्देशनपछि पोखरा महानगरपालिका पुग्दा जे देखियो...

कास्की । देशकै ठूलो महानगरपालिका भएर होला आम जनमानसको बुझाइमा के छ भने महानगरपालिकामा कर्मचारीलाई सेवाग्राहीको काम गर्न भ्याइ नभ्याई होला । अनि सेवाग्राहीको भिड पनि त्यस्तै होला । तर सोमबार कार्यालय समयमा हामी पोखरा महानगर पुग्दा न सेवाग्राही देखिए, न त कार्यकक्षमा कर्मचारी नै । 

एकदिन पहिले मात्रै निजामती कर्मचारी सेवा दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई खाजा खाने समय आधा घण्टा मात्रै हो भन्दै त्यसलाई कायम गर्न निर्देशन दिए । यसको प्रमुख उद्देश्य थियो सेवाग्राहीको काम समयमा होस् । प्रधानमन्त्रीको त्यो घोषणाको केही दिनमै हामी देशकै ठूलो पोखरा महानगरपालिकाको कार्यालय पुगेका थियौँ । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापादेखि सूचना अधिकारी कृष्णप्रसाद तिवारीसम्म अधिकांशको कार्यकक्ष खाली थियो । बिदाको दिन नभएपनि कार्यालय प्राय सुनसान थियो । पोखराका मेयर धनराज आचार्य पनि कार्यक्रमको सिलसिलामा बाहिर रहेछन् । 

उपप्रमुख मञ्जुदेवी गुरुङ न्यायिक समितिको इजलासमा व्यस्त भएको पाइयो । कार्यालयमा हाकिमहरू खोज्दै जाँदा वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा भेटिए । उनलाई प्रश्न गर्दा पो थाहा पाइयो महानगर खाली हुनुको प्रमुख कारण प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी र केही जनप्रतिनिधि गरी जम्बो टोली जापान भ्रमणमा गएको रहेछ । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगरकै स्वास्थ्य महाशाखा प्रमुख हेम आचार्यलाई निमित्त प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका रहेछन् । तर उनको मोबाइल पनि स्विच अफ थियो ।

महानगरभित्रको मनोमानी यतिमा मात्र सीमित थिएन । जब हामीले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको स्वकीय सचिवलाई भेट्यौ त्यसपछि थाहा पायौ निमित्त प्रशासकीय अधिकृत हेम प्रसाद आचार्य पनि मनोहर कडरियालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेर उनी पनि कार्यालय आएका रहेनछन् ।

हुन त स्थानीय तहलाई सरकारले घरघरमा सिंहदरबार भनी व्याख्या गरेको छ । तर यी घरघरका सिंहदरबार भने खाली छन् । त्यसो त महानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई सबैभन्दा बढी विदेश भ्रमण गर्ने भनेर आरोप लाग्ने गरेको छ । गर्नैपर्ने भ्रमण त गर्नै पर्यो तर यसरी महानगरपालिका जस्तो कार्यालय पुरै सुनसान पारेर दिन खोजिएको सन्देश के हो ? देशकै ठूलो महानगरपालिकाको कार्यालयको यो पाराले बुढापाकाहरूले भन्ने गरेको एउटा उखान ’सरकारी काम, कहिले जाला घाम’ लाई चरितार्थ गरेको छ । 


 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update