News 24 Television
डिग्रीको सर्टिफिकेट थन्काएपछि सुरु भयो पुच्का हाउस

काठमाडौँ । पछिल्लो समय युवाहरू पढाइको डिग्री हासिल गरेपछि जागिर खान्छन् कि त विदेश जान्छन् । थोरै मात्रले आफूलाई स्वरोजगार बनाउँछन् । सीमित लगानीमा देशमा के गर्न सकिन्छ र ? भन्दै लाखौं लाख खर्च गरेर युवा पुस्ता विदेश हुईकिन्छन् । पढाई सकेर जागिर खानैपर्छ वा विदेशनै जानुपर्छ भन्ने मानसिकतालाई तोड्दै कञ्चनरुप नगरपालिका–८, सप्तरीकी गिता कर्णले तीन वर्षअघि आफ्नो व्यवसायी शुरु गरिन् । व्यवसाय सुरु गर्न उनले शिक्षिकाको पेसा मात्रै छोडिनन्, डिग्रीको प्रमाणपत्र दराजमा थन्काइन् । जागिर खाने मानसिकताबाट टाढिएकी उनले भक्तपुरमा ‘फाइभ फ्लेवर पुच्चका हाउस एण्ड क्याफे’ सञ्चालन गरिरहेकी छन् । काठमाडौंतिर सबैले पानीपुरी भनेर बेच्ने गरेकाले आफूले त्यसलाई ‘पुच्का’ नाम दिएको उनी बताउँछिन् ।  

मध्य लकडाउनको बेलामा फुरेको ‘फाइभ फेल्वर पुच्चका हाउस एण्ड क्याफे’लाई उनी र उनका परिवारका सदस्यले सजाएका हुन् । न त उनको क्याफेमा महँगो फर्निचर छ न त आयातित बत्तीहरू नै छन् । कुनै पनि व्यवसाय ठूलो ठाउँमा अनि ठूलै कुराको गर्नुपर्छ भन्ने सोच उनमा थिएन । उनको प्राथमिकतामा महँगो लगानी भन्दा पनि स्वाद परेको छ । कोभिडका बेला शुरु गरेको व्यवसाय आर्थिक मन्दीले सुस्ताएको भएपनि उनी आत्तिएकी छैनन् । व्यवसायकको तीन वर्षले उनले धैर्य बन्न सिकेकी छन् । व्यवसायमा फाइदा सोचिने भएपनि उनको मुहारमा मुस्कान ग्राहकको सन्तुष्टिले दिन्छ । 

‘फाइभ फ्लेवर पुच्चका हाउस एण्ड क्याफे’को मट्का चिया लोकप्रिय छ । यससँगै विभिन्न फ्लेभरका पानीपुरीले पनि ग्राहकलाई आकर्षित गर्छ । अन्तभन्दा स्वाद फरक, सरसफाइ र मूल्यपनि कम भएको ग्राहकहरूको अनुभव छ । 

सफल हुनु भन्दा पनि सन्तुष्ट हुनु महत्वपूर्ण रहेको गिताको बुझाई छ । एमएडको पढाइले उनी व्यवहारीक भइन् तर जिम्मेवार भने व्यवसायले बनायो । ठूलो लगानी वा सपना भन्दा पनि आफ्नो क्षमता पहिचान गर्न र स्थिर रहन उनी सुझाउँछिन् । 


 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update