News 24 Television
काँग्रेस नेता धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्न माग

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानबिन गर्न माग गरेका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपैयाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उनकी श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए ।

सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबीसहित धनराज दम्पतीविरूद्ध उजुरी समेत दिएको भन्दै उनले छानबिन गर्ने कि नगर्ने भनी प्रश्न उठाए । उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे । स्मरणीय छ रास्वपा सभापित रवि लामिछानेमाथि सहकारी प्रकरणमै संसदीय छानबिनकाे माग राखेर काँग्रेसले गत जेठमा संसदकाे वेल घेराउ गरेकाे थियाे ।

उनले भने, ‘सहकारीको वचत अपचलन छानविनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसदमा चर्को नारावाजी गर्ने मध्येमा एक माननीयज्युविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको आज मिडियाहरुमा छ्यापछ्याप्ती देख्न पाइएको छ । उजुरी नै अन्तिम सत्य त होइन । तर उजुरी नपर्दा, प्रमाण नहुँदापनि रास्वपाका सभापति रवि लामिछानेज्यूलाई सदनमा के–के सम्म गरियो ? संसारले प्रष्टसँग देखेको छ । तर मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिव १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङको विरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ । अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ? भनेर यस सम्मानित सदनमार्फत नेपाली काँग्रेसका माननीयज्यु हरुलाई सोध्न चाहन्छु । सहकारीको ठगि लुकाउन उहाँले सम्बन्ध विच्छेदसम्म गरेको कुुरापनि बाहिर आएको छ । सहकारी ठगीको छानविनका लागि माग गर्दै कांग्रेसका माननीयज्युहरुले यो संसदको वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुन्न ? कि दोहोरो मापदण्ड अपनाउने हो ? म सदनमार्फत जवाफको माग गर्दछु ।'

साथै एपिवान टिभीमा पनि जिबि राईले लगानी गरेका थिए भन्ने कुरा सञ्चार माध्यमबाट छ्यापछ्याप्ती सुन्न आइरहेको भन्दै उनले त्यो लगानी पनि सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानविन गर्न समेत उनले माग गरे । सरकार बनाउने भूमिका खेल्ने सो टिभिका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन ? भन्दै उनले गृहमन्त्रीसामु प्रश्न उठाए ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update