News 24 Television
भाषा आयोगको नवौं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । भाषा आयोगले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोह दुई चरणमा सम्पन्न गरिएको हो । 

पहिलो चरण उद्घाटन सत्र आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले आयोगको कार्यक्षेत्र बढाउनुपर्ने र यसका लागि आफ्नो तर्फबाट सहयोग रहने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा आयोगका कामु सचिव डा. लोकबहादुर लोप्चनले आयोगको संवैधानिक अधिकार र दायित्वका विषयमा आफ्नो विचार राख्नुभएको थियो । प्रमुख अतिथि मन्त्री पाण्डेले विभिन्न मातृभाषाका पत्रिकालाई भाषा आयोगको तर्फबाट सम्मान प्रदान गर्नुभएको थियो । 

समारोहमा लिम्बु भाषाको पत्रिका तान्छोप्पा, वान्तबा राई भाषाको बुङवाफा, डोट्याल्ली भाषाको गुगुल्डी, तामाङ भाषाको तामाङ डाजाङ, नेपाल भाषाको थौकन्ह, बज्जिका भाषाको बज्जिकाञ्चल दैनिक, भोजपुरी भाषाको भोजपुरी टाइम्स, नेपाली भाषाको रचना, चाम्लिङ राई भाषाको सितिमि, वाम्बुले राई भाषाको लिब्जु–भुब्जु र थारु भाषाको लावा डगरलाई सम्मान गरिएको छ । 

उद्घाटन समारोहमा आयोगका पूर्व अध्यक्ष एवं सल्लाहकार डा. लवदेव अवस्थीले आफ्ना शुभकामना दिनुभएको थियो । 

    वार्षिकोत्सवको दोस्रो चरणमा नेपालमा सरकारी कामकाजको भाषा र त्यसको कार्यान्वयन सम्बन्धमा अन्तक्र्रिया सम्पन्न भएको थियो । भाषा आयोगका उपसचिव तारानाथ निरौलाले नेपालको सरकारी कामकाजको भाषा कार्यान्वयनको अवस्थाबारेमा टिपोट प्रस्तुत गर्नुभएको थियो । 

नेपालका विभिन्न सात प्रदेशबाट आएका भाषिक संस्थाका प्रतिनिधिले भाषा सम्बन्धित विषयमा आफ्नो जिज्ञासा र सुझाव प्रस्तुत गर्नुभएको थियो । 

आयोगका कामकारवाही सम्बन्धमा आएका टिप्पणीमाथि आयोगका सदस्य उषा हमाल, डा. अमर गिरी, कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, गोपालजी प्रसाद सर्राफ, डा. पुष्करराज भट्ट एवं सुरेश मानन्धरले आफ्ना विचारका साथै आयोगको अगामी कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । 

आयोगका सल्लाहकार डा. रामावतार यादवको शुभकामना मन्तव्य एवं सुझाव प्रस्तुत गर्नुभएको थियो । सभाको समापन आयोगका अध्यक्ष माननीय डा. गोपाल ठाकुरले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update