News 24 Television
नदी उकास जग्गामा खेतीः विपन्न किसान उत्साहित

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ५ का विपन्न किसानहरु तरकारी उत्पादनमा व्यस्त रहेका छन् । नदी उकास खेर गईरहेको वनक्षेत्र र बगरका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि किसानहरुलाई तरकारी बेच्न भ्याईनभ्याई छ । विभिन्न निकायको सहयोगमा ग्रामीण स्वयमसेवक समाज र हरिवन नगरपालीकाले सुरु गरेको कृषि वन कार्यक्रम मार्फत तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका हुन् । उत्पादित तरकारी लौका, घिरौला, बोडी, हरियो साग, पर्वल, फर्सी, खर्बुजा, काँक्रो खुर्सानी, सिमल तरुल, बदाम लगायतका फलफूल र तरकारी विक्रीबाट भएको आम्दानीले किसानलाई जिविकोपार्जनमा सहज बनाएको छ ।    

विपन्न कृषकहरु छनौट गरी त्यस्ता खाली पर्ती जग्गा तथा नदी उकास बगरमा खनजोत तथा मलपानीको व्यवस्था गरि तरकारी खेती सुरु गरिएको थियो । विभिन्न दातृ निकायहरुले मल, विउविजन, विषादीदेखि लिएर खनजोतका लागि आवश्यक स्रोतसाधन नै उपलब्ध गराएर किसानहरुले उत्पादन भएको तरकारी अहिले सर्लाहीका बजारहरुमा पुग्ने गरेको छ । करिब ३५ विगाहामा विभिन्न कृषक समूहहरु बनाई सामुहिक तरकारी खेती सुरु गरिएको छ । किसानका लागि दातृ निकायका साथै स्थानीय तह पनि सारथि बनिरहेको छ । हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गईरहेको नदी उकास जग्गामा गरिएको कृषि उत्पादनबाट नगरपालिका ५ का १४३ घरपरिवार परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

विभिन्न दातृ निकाय तथा स्थानीय तहको साथ पाएर प्रयोगविहिन जग्गाहरुमा गरिएको कृषि उत्पादनले विपन्न कृषकहरु लाभान्वित भएका छन् । रोजगारी नभएका विपन्न नागरिकका लागि जिविकोपार्जनको स्रोत बनिरहेको छ । 


 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update