News 24 Television
रास्वपाको संगठन विस्तार आक्रामक, वडा–वडामा बन्दै संगठन 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन निर्माणमा जोड दिएको छ । विना संगठन र छोटो समयमै संघीय संसदको चौंथो दलको रुपमा उदाएको रास्वपाले मिसन ८४ अभियान घोषणा नै गरेर आगामी निर्वाचनको तयारी समेत गरिरहेको छ । ७७ जिल्लामा संगठन बनाइसकेको  रास्वपाले ६ हजार ७ सय ४३ वडामध्ये करिव २ हजार वडामा समेत आफ्नो संगठन विस्तार गरिसकेको छ ।

गत फागुन ६ गते रास्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशका सबै कमिटि र विभाग विगठन गर्दै कर्णाली प्रदेशमा विशेष अभियानको आवश्यकता भएको निष्कर्षमा पुगेको थियो । तर फागुन २३ गते दोस्रो पटक रास्वापा सरकारमा सहभागी भएपछि पार्टी संगठन निर्माण तर्फ भन्दा पनि सत्ता सञ्चालन तर्फ अगाडि बढ्यो । 

एमाले कांग्रेसको सत्ता सहकार्यसंगै पुनः प्रतिपक्ष दलको कित्तामा पुगेको रास्वापा अहिले भने संगठन निर्माण तर्फ केन्द्रीत भएको छ । पुराना दलको कार्यशैलीप्रति प्रश्न उठाउँदै जन्मिएको रास्वापा २०८४ सालमा दुई तिहाई मत ल्याएर पहिलो दल बन्ने पार्टीका नेताहरुको दाबी छ । तर त्यसका लागि संगठन बिना नहुने भएपछि अहिले रास्वपा संगठन निर्माणमा आक्रामक रुपमा अघि बढिरहेको हो । सबै जिल्लामा संगठन बनाइसकेको रास्वपाले पूर्वी रुकुम, हुम्ला, मुगु र मनाङबाहेक सबै जिल्लाहरुमा नेतृत्व चयन समेत गरिसकेको छ । देशभरका ६ सय ५३ स्थानीय तह मध्ये ४ सय स्थानीय तह र ६ हजार ७ सय ४३ वडा मध्ये २ हजार वडामा पनि संगठन विस्तार भइसकेको छ ।  

२ लाख २५ हजार पार्टी सदस्य रहेको रास्वापाले विदेशमा बसेका नेपालीहरुलाई पार्टी संग जोड्नका लागि केही खाडि सहितका १० मुलुकमा प्रवासी नेपाली समन्वय विभाग गठन गरिसकेको छ । २०८२ बैशाखमा महाधिवेशन गर्ने जनाएको रास्वपाले अगामि असोज ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दै छ । तर महाधिवेशन भन्दा अगाडि करीब ४ हजार वडामा संगठन विस्तार गरिसक्ने र जिल्ला र पालिकाहरुमा पनि अधिवेशन गर्ने तयारी छ ।  

संगठनलाई विस्तारलाई तिव्रता दिइरहेको रास्वपाका लागि दोस्रोपटक सरकारमा सहभागि हुनु प्रतिकुल देखियो । सरकारमा रहँदा जनभावना अनुसार काम गर्न नसकेको भन्दै रास्वपाबाट मन्त्री बनेकाहरुको आलोचना समेत भयो । त्यस्तै पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिनाको आरोप लागेपछि आमनागरिकमा जो आए पनि उस्तै हुन् भन्ने मान्यता स्थापित भयो । त्यसैले पनि मिसन ८४ भन्दै आगामी निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने उद्देश्य लिएको रास्वपालाई उसले सोचेजस्तो सहज भने छैन । 

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update