काठमाडौँ । नेपालमा राजनीतिक भ्रष्टाचारको जरा गहिरोसँग झाँगिएको छ । पुराना र स्थापित ठूला दलहरू नै भ्रष्टाचारमा लिप्त छन् । तिनले ठूला भ्रष्टाचार काण्डमा राष्ट्रिय सहमति गरेरै आफू र आफू निकटकालाई चोख्याउने काम गर्छन् । हाल काँग्रेस र एमालेको संयुक्त सरकार छ । यिनीहरूको सरकार बन्नुअघि गत असारसम्म एकले–अर्कालाई भ्रष्टाचार काण्ड उधिनेरै सत्तोसराप गर्दै थिए । तर मिलिजुली सत्तामा पुगेपछि एमाले–काँग्रेसका नेता मुछिएका भ्रष्टाचार काण्ड अहिले सामसुम पारिएको छ । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ४०–५० करोड भन्दा माथिका भ्रष्टाचार मुद्दामा यिनै ठूला दलले ‘राष्ट्रिय सहमति’ गर्नेे गरेको बताएका छन् ।
शनिबार एक कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०–५० करोड रुपैयाँभन्दा माथिका कुनै पनि भ्रष्टाचार मुद्दामा दलहरूका बीचमा राष्ट्रिय सहमति हुने गरेको बताए । ठूला भ्रष्टाचारहरू काँग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी समेतका प्रमुख दलहरूको संलग्नताबिना नहुने बताउँदै उनले यिनै दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको तर्क गरे । यस प्रवृत्तिले नेपालमा राजनीति, पार्टी र मुलुक नै सखाप पारिरहेको उनको भनाइ छ । राजनीतिक दल र नेताहरू भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने उनले बताए ।
महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको आरोप समेत लगाए । समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको उनको आरोप छ । चुच्चे रेल र टावरहरूको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उनले बताए ।
यसअघि भदौ १३ गते संसदमा बोल्दै राप्रपा सांसद रोशन कार्कीले ठूला दलका नेताहरू खाने बेलामा मिलेर भ्रष्टाचार गर्ने गरेको बताइन् । खानेबेला मिलेर खाने तर भाग नमिल्दा भने एकअर्कालाई दोषारोपण गरेर झगडा गर्ने अर्थात् चिल्ने प्रवृत्ति नेताहरूमा रहेको भन्दै उनले आक्रोश व्यक्त गरेकी थिइन् । अहिलेसम्म ठूला दलहरूले नै देशलाई यस्तो हालतमा पु¥याएको भन्दै उनले भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने र अहिले एक–अर्कालाई दोषारोपण गर्ने गर्ने प्रवृत्ति ठीक नभएको बताइन् ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले अब देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने र हजारौँ रविहरू जन्मिनुपर्ने बताए । देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरू चाहिने उनको भनाइ थियो । यसको मतलब ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्ने भन्दै उनले रास्वपा त्यही अभियानमा लागेको जिकिर गरे । उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह समेत गरे । भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको उनको भनाइ थियो ।
अघिल्लो सरकारमा रवि गृहमन्त्री हुँदा टीकापुर जग्गा काण्ड र भुटानी शरणार्थी लगायत ठूला भ्रष्टाचार काण्डमा थप अनुसन्धान गर्ने तयारी गरेको बताइन्छ । तर उनी सफल भने हुन सकेनन् । काँग्रेस एमालेकै नेता र आफन्त समातिने डरले रातारात काँग्रेस–एमाले मिलेको भनेर स्वयं रविले नै संसदमा बोलेका थिए । पछिल्लो समय संघीय सरकारका नेतृत्वकर्ता एमाले–काँग्रेस र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच पनि जुहारी चलिरहेको छ । हक्की स्वभावका मेयर बालेनले काँग्रेस–एमालेको उछित्तो काढिरहेका छन् ।
काँंग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सत्ता सम्झौता भएको बेला बालेनले उनीहरूको फोटो शेयर गर्दै फेसबुकमा लेखेका थिए– यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले ! त्यसपछि पनि उनले प्रधानमन्त्री ओलीलाई ठाडै चुनौती दिएर विभिन्न पोस्ट गरेका छन् । आफूहरू भ्रष्टाचार नगर्ने र ठूला दलहरूले गर्दै आएका राष्ट्रिय भ्रष्टाचार विरुद्ध खरो आवाज उठाउने रवि–बालेनहरूको रणनीति देखिन्छ । यसरी हेर्दा देशलाई भ्रष्टाचारमुक्त बनाउन र देश विकास गर्न अब हजारौँ रवि र बालेनहरू नै चाहिने अवस्था सृजना भएको छ ।