News 24 Television
खेलाडी पलायन रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिन मन्त्रीको प्रस्ताव

काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन् । 

आईतवार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । 

नेपालमा खेलकुदको सम्भावना बढी रहेको भए पनि खेलाडीहरु विदेश पलायन भइरहेको भन्दै मन्त्री चौधरीले १३ औं सागमा सहभागी २०७ जना खेलाडीमध्ये १०० बढी खेलाडी विदेश पलायन भइसकेकाे बताए । उनले खेलाडीलाई देशमा सुविधा दिनसके देशमै रहने वातावरण बन्ने बताउँदै सबैले खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गरे । 

उनले भने, ‘नेपालमा खेलकुदको सम्भावना बढी छ । धेरै खेलाडी विदेश पलायन भइसकेका छन् । हिजो अस्तिमात्रै पत्रिकामा १३ औं सागमा २०७ जनामा १ सय खेलाडी विदेश पलायन भइसकेको बताएका छन् । धेरै खेलाडीहरु विदेश पलायन भएकाले तीन कुरामा मात्रै खेलाडीलाई यो देशमा सुविधा दिनसक्यो भने पक्कै पनि खेलाडीहरु देशमै रहने वातावरण बन्छ । खेलाडीहरुको छोराछोरीको शिक्षादिक्षा राम्रो हुन सक्नुपर्छ । त्यो व्यवस्था हामीले गर्नुपर्छ । उहाँहरुलाई रोजगारी दिनुपर्छ । आर्मी, पुलिस र सशस्त्र बाहेकले रोजगारी दिन सकेको छैन । रोजगारी सिर्जना गरिदिनुहुन आग्रह गर्दछु । अर्को कुरा स्वास्थ्य हो । त्यो हुनसके हाम्रो देशमै खेलाडीहरु रहनेछन् र शिर उँचो राख्नेछन् । खेलकुदलाई बढी प्राथमिकता दिन आग्रह गर्दछु ।’

मन्त्री चौधरीले सरकारले अहिले महत्वका साथ खेलकुद क्षेत्रलाई हेरिरहेको दाबी गरे ।

नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान प्रदान गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update