News 24 Television
बढ्दैछ आत्महत्याकाे ग्राफ : वर्षदिनमा ७ हजार २२३ जनाले गरे आत्महत्या

काठमाडाैँ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । आईतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेको बताए । उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए । उनले एसडिजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

घिमिरेका अनुसार नेपालमा वयस्कमा ६.५ प्रतिशत र किशोरकिशोरीमा ३.९ प्रतिशतले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजजन उमेर समूहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या रहेको छ । आत्महत्याका धेरै कारणहरुमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेको उनले बताए । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको उनकाे भनाइ छ । 

विश्वमा मृत्युका कारणहरुमध्ये आत्महत्या १५ औं कारण रहेको उनकाे भनाइ छ । विश्वमा वार्षिक ७ लाख मानिसहरु आत्महत्याको कारणले मृत्यु वरण गर्ने तथ्यांक रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको उनले बताए ।

हाल विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरु अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एशियामा मात्रै ३९ प्रतिशत रहेको छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलाैँ भन्ने नारासहित’ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update