News 24 Television
काठमाडौं महानगरको सेवा अब मोबाइलबाटै, बालेनको चुनावी बाचा पुरा !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले आफ्नो चुनावी घोषणा गर्दैगर्दा सेवाग्राहीलाई सहुलीयत दिने प्रतिबद्धता गरेका थिए । 

मेयर बालेनले भने जस्तै उनले सेवाग्राहीको सहजतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । 

यस्तोमा काठमाडौं महानगरले निजामती सेवा दिवसका परम्परागत कार्यक्रमलाई रुपान्तरण गरेर सेवाको क्षमता बढाउने कार्यक्रम स्वरुप प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’ बाट महानगरपालिकाको एकद्वार सेवा शुरु गरेको छ । समय सापेक्ष प्रविधियुक्त सेवा अहिलेको अपरिहार्य आवश्यकता रहेको महशुस गर्दै महानगरले लाइन मुक्त सेवामा विशेष जोड दिएको हो । 

के हो ‘एकल सेवा केन्द्र’ ?

महानगरपालिकाभित्र जुनसुकै सेवा लिन केन्द्रमा आएर टोकन लिनु पर्ने, प्रक्रिया, कागजपत्र, सेवा लिने ठाउँ, समयजस्ता विषयमा जानकारी लिएपछि सेवा प्राप्त हुने व्यवस्था भएकोले एकल सेवा केन्द्र वा एकद्वार भनिएको हो । 

योसँगै महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु नपर्ने महानगरको दाबी छ । प्रविधिका ज्ञान हुनेले प्राविधिक साधन तथा उपकरणको सहयोग लिएर र  ज्ञान नहुनेले डेस्कका कर्मचारीबाट जानकारी लिएर सेवा लिन सक्नेछन् । 

टोकन प्राप्त गरेको ४५ मिनेटदेखि १ घण्टामा सेवाग्राहीले सेवा लिइसक्ने छन् । कुनै कारणले समय लाग्ने भएमा कति समय लाग्छ भन्ने सम्भावित समयका विषयमा जानकारी गराइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । 

सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेभ पेजबाट हेर्न सक्नेछन् । एकल सेवा केन्द्रमा निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफीको व्यवस्था समेत गरिएको छ ।

सेवाग्राहीले सेवा लिने माध्यम

सेवाग्राहीहरुले कार्यालयमा आफैँ उपस्थित भएर मौखिक रुपमा टिपाएर, लिखित रुपमा अभिलेखन गरेर, निःशुल्क टेलिफोन नम्बरमा फोन गरेर, केन्द्रको इमेल ठेगानामा विषय पठाएर, महानगरपालिकाको वेभसाइट वा मोवाइल एप्लिकेसनमा दिएका निर्धारित विकल्पको प्रयोग गरेर र कार्यालयका औपचारिक सामाजिक सञ्जालहरुको माध्यम प्रयोग गरेर सेवा लिन सक्नेछन् । भौतिक रुपमा उपस्थित हुने सेवाग्राहीले कार्यालय समयमा र विद्युतीय माध्यमबाट सेवा लिन चाहनेले जुनसुकै समयमा पनि सेवाको माग गर्न सक्नेछन् । यसरी सेवा माग गर्दा नाम थर र ठेगाना, सम्पर्क मोवाइल नम्बर, माग गरेको सेवा सम्बन्धी पूर्व निर्धारित फाराम भए त्यसै अनुरुप र नभए आफूले प्राप्त गर्न चाहेको सेवा उल्लेख गर्नुपर्छ । 

काठमाडौं महानगरले गत साउनमा सेवाग्राही सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी ५ सय १७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा गरेका थिए ।  

उनीहरूले दिएको सुझावका आधारमा गत वर्ष जारी गरिएको एकल सेवा केन्द्र सञ्चालन कार्यविधिका आधारमा सेवा शुरु भएको हो । 

केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितका योजना क्रमशः कार्यान्वयन गर्दै जाने महानगरले जनाएको छ । एकल सेवा केन्द्रलाई पहुँचयुक्त, पारदर्शी र उत्तरदायी सेवाको आधारभूत पूर्वाधारका रुपमा महानगरले लिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update