News 24 Television
चिकित्सा शिक्षामा नयाँ आयाम : विदेशी मुद्रा कमाउने अवसर नै अवसर

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि ८ हजार ७० वटा सिट निर्धारण गरेको छ । 

यस वर्ष एमबीबीएसका लागि तीन वटा नयाँ र एउटा निजी कलेजले पनि सम्बन्धन पाएका छन् । सरकारीमा मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ, भने निजीमा बी एण्ड सी कलेज रहेको छ । 

नेपालको चिकित्सा शिक्षा दक्षिण एसियाली अन्य राष्ट्रको तुलनामा सस्तो र गुणस्तीय मानिने भएकाले यो विदेशी मुद्रा आर्जनको माध्यम बन्न सक्ने देखिन्छ ।

चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको सूचना अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर दुई हजार एक सय ४० वटा सिट निर्धारण भएको छ । यस्तै बीपीएचमा ६ सय ७०, बीएनएसमा ९ सय ८०, बीडीएसमा ५ सय ७५, बीएस्सी नर्सिङका लागि १ हजार ९ सय ९० सिट निर्धारण भएको छ । 

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । 

सरकारबाट वि.सं.२०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन १७ वर्ष कुर्नु प¥र्यो । 

त्यस्तै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको आरम्भ हुने भएको छ । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । 

उच्च शिक्षाका लागि नेपाली विद्याथीको भीड विमानस्थलमा थामिनसक्नु भइरहँदा नेपालको चिकित्सा शिक्षामा भने विदेशी विद्यार्थीको आकर्षण बढेको पाइन्छ । सरकारी र निजी मेडिकल कलेजहरुमा पछिल्लो तीन वर्षयता १ हजार २ सय ४३ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । 

नेपालमा विशेषगरी भारत, माल्दिभ, श्रीलंका, भुटान लगायतका दक्षिण एसियाली देशहरुबाट चिकित्सा शिक्षा अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान काठमाडौं, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरास्थित मणिपाल मेडिकल कलेज, भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज र जनकपुरको जानकी मेडिकल कलेजमा भारतीय विद्यार्थी बढी आउने गरेका छन्  । 

भारतमा मात्रै भारतीय १ करोड रुपैयाँ बढि खर्च हुँदा नेपालमा भने एमबीबीएस करिब १ करोड नेपाली रुपैयाँमै सकिन्छ । त्यसैले पनि सरकारले यसलाई विदेशी मुद्रा आर्जनको माध्यम बनाउन समेत विदेशीलाई चिकित्सा शिक्षामा धेरै कडाइ नगर्दा नै उपयुक्त हुने विज्ञहरुको सुझाव छ । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update