News 24 Television
नाम मात्रैको पर्यटन दशक सुरु नभई असफल, सरकारको फेरि अर्को तयारी 

काठमाडौं । सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशकको रुपमा घोषणा गर्याे । तर विना तयारी हतारमा घोषणा गरिएको भ्रमण दशक नराम्रोसँग असफल भइसकेको छ । 

दश बर्ष दश उत्सव भन्दै हतार–हतार घोषणा गरिएको भ्रमण दशकको २ बर्ष गफैमा बितेपछि अहिले पुनः २०२५ देखि २०३५ लाई भ्रमण दशकको रुपमा मनाउने चर्चा चुलिएको छ । 

सनक र महत्वकांक्षाका भरमा सरकारले घोषणा गरेको पर्यटन दशक असफल बनेको छ । सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशकका रुपमा घोषणा गरेको थियो । तर घोषणाको २ बर्ष विति सक्दापनि माखो नमारेपछि फेरि २०२५ देखि २०३५ सम्म भ्रमण दशक मनाउने चर्चा चुलिएको छ । 

सबैका लागि पर्यटन भन्ने अवधारणामा आधारित रहेर १० वर्ष भित्र वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने लक्ष्य भ्रमण दशकको थियो । 

पहिलो वर्ष अर्थात् सन् २०२३ लाई कार्ययोजना निर्माण गर्ने, २०२४ मा बागमती प्रदेशमा सांस्कृतिक सम्पदामा अभियान गर्ने, २०२५ मा गण्डकी प्रदेशका दुर्गम भेगलाई प्रबद्र्धधन गर्ने, २०२६ मा साहसिक तथा आध्यात्मिक पर्यटन अभियान सञ्चालन गर्ने, २०२७ मा लुम्बिनी प्रदेशमा बुद्धिष्ट पर्यटनको प्रबद्र्धधन गर्ने, २०२८ मा मधेश प्रदेशमा रामायणमा आधारित पर्यटन अभियान चलाउने, २०२९ मा सुदूरपश्चिम प्रदेशको प्रकृति र आध्यात्मिक पर्यटन प्रबद्र्धन गर्ने, २०३० मा कोशी प्रदेशको केचनाकवलदेखि सगरमाथासम्मको जैविक विविधतालाई उत्सवका रुपमा मनाउने, २०३१ मा भर्जिन कर्णाली प्रदेश अभियान चलाउने र २०३२ लाई फेस्टिभ नेपाल नाममा राष्ट्रिय अभियान चलाउने सरकारी लक्ष्य थियो । 

यसरी घोषणा भएको पर्यटन दशकको २ बर्ष वित्नै लाग्दा पहिलो बर्ष अर्थात् सन् २०२३ मा गर्ने भनिएको लक्ष्य समेत प्राप्ति हुन सकेन । 

भ्रमण दशक मनाउन भन्दा अगाडि नेपालका कुन कुन स्थानमा पर्यटक लैजाने, त्यहाँको पूर्वाधार विकास, सडक संञ्जालदेखि हस्पीटालिटी सेवाको विकासका बारेमा दिगो योजना बन्न नसक्दा यो कार्यक्रम सुरु नभई नै तुहिएको हो । 

ठुलो महत्वकांक्षा बोकेको यो कार्यक्रम असफल भएपछि अहिले पुनः सन् २०२५ देखि २०३५ सम्म भ्रमण दशक मनाउने बिषयमा छलफल चलिरहेको पर्यटन बोर्डको भनाइ छ । 
  
दश वर्षे कार्यक्रम घोषणा गर्ने सरकारकै स्थायित्व नहुँदा पनि यस्ता कार्यक्रमहरु गफमै सीमित हुने गरेका हुन् । विगतमा भ्रमण दशकका सन्दर्भमा तयार पारिएका कार्ययोजना अनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास र पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सरकार चुकेको छ । तर अहिले सबैसंग सल्लाह गरेर भ्रमण दशक मनाउने गरि तयारी भै रहेको पर्यटन बोर्डको भनाइ छ ।  
 
एक वर्षमै ३५ लाख पर्यटक भित्र्याउने उद्देश्य व्यसायिकरुपले एकदम राम्रो हो । तर यतिका पर्यटक नेपाल आए भने यहाँका पूर्वाधार र व्यवसायीले धान्न सक्ने अवस्थाा छ कि छैन ? 

यसमा पनि सरकारले ध्यान पु¥याएको जस्तो देखिन्न । त्यसैले कुनै पनि पर्यटन सम्बन्धी कुनै पनि महत्वकाँक्षी योजना ल्याउनु अघि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवर्द्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रबर्द्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटन उपजको विकास र विस्तारमा सरकारले ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update