News 24 Television
पलेशालाई सरकारले लाखौं रकम दिने, प्रोत्साहनका हात थप बढ्दै 

काठमाडौं । पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोबर्द्धन र प्रशिक्षक कविराज नेगीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 

पलेशाले पारालिम्पिकमा कास्य पदक जितेपछि उनलाई नेपालमा नगरपरिक्रमादेखि राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायतले शुभकामना दिइसकेका छन् । 

पलेशाले दिलाएको पदक र राज्यले उनलाई कस्तो सहयोग ग¥यो त ? यसबारे पनि अहिले चर्चा भइरहेको छ । 

यस चर्चाका बीच नै सरकारले पारालिम्पिक खेलाडी पलेशा गोबर्द्धनलाई कानूनले तोके बमोजिमको पुरस्कार राशी गपलब्ध गराउने भएको हो । 

पलेशा र पलेशाका प्रशिक्षक कविराज नेगीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ । मन्त्रिपरिषद् बैठक यसबारे निर्णय गरिसकेको  छ ।

पारालिम्पिक खेलमा कास्य पदक दिलाएकी पलेशालाई राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमै बोलाएर सम्मान गरिसकेका  छन् । 

राष्ट्रपतिले शितलनिवासमा पलेशा र प्रशिक्षकलाई सम्मान गर्दै मुलुकको शीर उचो राख्न सफल भएकोमा बधाई दिए भने थप प्रगतिको कामना समेत गरे । 

राष्ट्रपतिले जस्तै प्रधानमन्त्री केपी ओलीले पनि बालुवाटारमा बोलाएर सम्मान गरे । ओलीविरुद्ध अनफलो अभियान चलेकै बेला ओलीले पलेशासँग सम्वाद गरेको भिडियो आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक पनि गरेका  छन् ।

पलेशाले पाउने पुरस्कार राशीमा पनि कुनै कर नलिने सरकारले बताइसकेको छ । पलेशालाई कर छुट दिन लागेको सरकारले पलेशा जस्ता क्षमतावान खेलाडीलाई केन्द्रमा राख्दै संरचना निर्माणदेखि ट्रेनिङको व्यवस्था गर्न सके यसले नेपालको खेल क्षेत्रमा थप प्रगति देख्न सकिने चर्चा समेत चलिरहेको छ । 

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पनि आफ्नो निवास खुमलटारमै बोलाएर सम्मान गरेका छन् । 

पलेशा र प्रशिक्षक नेगीलाई खुमलटारमा भव्य सम्मान गर्दै प्रचण्डले पदकले विश्वभर रहेका नेपालीलाई गौरव प्राप्त भएको भन्दै खुशी समेत व्यक्त  गरे ।

पलेशालाई सम्मान र पुरस्कार

पलेशाले पारालिम्पिकमा कास्य पदक जितेपछि उनलाई नगरपरिक्रमा गराइयो भने काठमाडौं महानगरपालिकाले समेत नगद पुरस्कारको घोषणा ग¥यो । 

महानगरसँगै नीजि दूरसञ्चार सेवा प्रदायक एनसेलले समेत पलेशालाई १० लाख नगद पुरस्कारको घोषणा गरिसकेको छ । 

पलेशाले पदक दिलाएपछि उनको राष्ट्रव्यापी चर्चा चलिरहेको छ भने उनलाई सम्मान गर्न  चाहनेको सख्या समेत बढेको छ ।

पलेशाको गुनासो

पलेशाले राज्यले खेल जित्नुपूर्व खास भूमिका निभाउन नसकेको गुनासो गर्दै आएकी छन् । राज्यले ट्रेनिङ तथा अन्य व्यवस्थापनमा सयोग गर्न सके अर्को पटक स्वर्ण जित्ने भन्दै राज्यले सहयोग गर्नुपर्नेमा जोड दिइरहेकी छन् । 

चीनमा अध्ययन गरिरहेकी पलेशाले आफूले चीन र बेलायतमा ट्रेनिङ गरेको र त्यहि अनुसारको ट्रेनिङ पाए स्वर्ण जित्नेमा कुनै शंका नरहेको दाबी गरिरहेकी छन् । 

नेपालमा क्रिकेटबाहेकका खेलमा खास महत्व दिइएको देखिन्न । तर, पदक नै ल्याउने सम्भावना रहेका खेललाई सरकारले उच्च महत्व र प्राथमिकता दिनुपर्नेमा आम सर्वसाधारणले समेत जोड दिन थालेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update