News 24 Television
मधेश प्रदेश न्यूज २४ को महत्वमा, सुरु भयो प्रादेशिक व्यूरो कार्यालय

काठमाडौं । न्यूज २४ टेलिभिजनले देशकै आर्थिक राजधानीका रुपमा परिचित मधेश प्रदेशको वीरगञ्जमा प्रादेशिकक व्यूरो कार्यालय सञ्चालनमा ल्याएको छ । 

प्रादेशिक व्यूरोको उद्घाटन गर्दै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केन्द्र सरकारले मधेश प्रदेशलाई हेर्ने दृष्टिकोण बदल्नमा टेलिभिजनले भूमिका निर्वाह गर्नु पर्ने जिकिर गरे । 

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको उत्तरतर्फ विहिवारदेखि औपचारिकरुपमा संचालनमा आएको न्यूज २४ टेलिभिजनको मधेश प्रदेश व्यूरो कार्यालयको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गरेका हुन् । 

मधेश प्रदेशमा प्रादेशिक व्यूरो सञ्चालनमा ल्याई  टेलिभिजनले यस क्षेत्रलाई महत्व दिएको मुख्यमन्त्री सिंहले बताए । केन्द्र सरकारले मधेश प्रदेशलाई हेर्ने दृष्टिकोणमा असन्तुष्टि जनाउँदै उनले यसमा परिवर्तन ल्याउनेगरी टेलिभिजनमार्फत् मधेशमा विषयहरु प्रशारण गर्न आग्रह समेत गरे । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले अर्को आर्थिक वर्षमा मधेशका ८ वटै जिल्लाका सञ्चारकर्मीका लागि १ लाखको स्वास्थ्य बीमा र ७ लाखको दुर्घटना बीमाको व्यवस्था गर्ने जानकारी दिए । 

थप उच्च शिक्षा हासिल गर्न चाहने सञ्चारकर्मीका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिने उनले बताए ।  

वीरगंज लगायत मधेश प्रदेशका आठवटै जिल्लाहरुमा आर्थिक एवं पर्यटकीय सम्भावना उच्च रहेकाले आर्थिक क्रान्ति एवं पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्नेबारे उद्योग वाणिज्य संघ एवं सरोकारवालाहरुसँग निरन्तर छलफल चलिरहेको पनि मुख्यमन्त्री सिंहले जानकारी दिए । 

मधेश सरकार जहिलेपनि संघीयताको लागि लडिरहेको भन्दै मधेश प्रदेशमा संघीयताको बढि नै अनुभूति रहेको उनले दाबी गरे । 

मधेशका उद्योगी व्यवसायीहरुको समस्या सहित अन्य सरोकारका विषयहरुमा न्यूज २४ टेलिभिजनले निरन्तर महत्व दिएर समाचार प्रशारण गर्ने गरेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको भनाइ छ । 

त्यस्तै न्यूज २४ टेलिभिजनमार्फत सकरात्मक विषयहरुले पनि ठाउँ पाउने गरेको उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बताए । 

न्यूज २४ टेलिभिजिनले मधेशका शिक्षा, स्वास्थ्य र बेथिति लगायतका विषयमा यथार्थ चित्रण गर्नु पर्ने मधेश विश्वविद्यालयका उप–कुलपति डा. दिपक शाक्यले सुझाव दिए । 

वीरगञ्ज प्रादेशिक व्यूरोले पर्यटन, शिक्षा, आर्थिक लगायतका विषयमा केन्द्रीत रहेर ४ वटा कार्यक्रम सञ्चालन गर्ने न्यूज २४ टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा वीरगञ्जका प्रतिष्ठित व्यवसायी, उद्योगपति, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता थियो । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update