News 24 Television
एकताका लागि फकाउँदै माओवादी, टाढिँदै एमाले

काठमाडौं । ०७४ को वाम एकतापछि विभाजित दुई ठूला कम्युनिष्ट पार्टीहरु पुनः एकताको नारा लगाउँदै आएका छन् । तर तत्काल वाम एकताको सम्भाव्यता देखिँदैन । ७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गर्ने सर्तसहति निर्वाचनमा होमिदा जनताले झण्डै दुई तिहाइँ मत दिए । तर नेताहरु जनताप्रति उत्तरदायी बन्नुभन्दा शक्ति र प्रतिष्ठाको संघर्षतर्फ केन्द्रीत भए, जसकै कारण विवाद चर्कियो । 

फलस्वरुप दुई ठूला कम्युनिष्ट एकता फलिफाप भएन । तरपनि अहिले वृहत कम्युनिष्ट एकताको चर्को नारा लाग्ने गरेको छ । 

मुख्यतः प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नै वृहत कम्युनिष्ट एकतामा जोड दिइरहेको छ । राष्ट्र र राष्ट्रियताका लागि नेपालको प्रतिनिधित्व कम्युनिष्ट एकताबाटै  हुने माओवादीको रटान छ । तर कम्युनिष्ट दलहरुकै पछिल्लो सहकार्य प्रयास सफल हुन सकेन । 

अघिल्लो फुटको कमजोरीलाई आत्मसात गर्दै भर्खरै पनि एमाले–माओवादी सहकार्य भयो । तर यो सहकार्य पनि दिगो हुन नसकेको हो । यद्यपि माओवादीले भने कमी कमजोरीलाई स्वीकार गर्दै अझै वृहत वाम एकताको आह्वान गरिरहेको हो ।

 उता एमालेकै दोस्रो तहका नेताहरुले पनि बेला बखत कम्युनिष्ट एकताको चर्चा गर्ने गरेका छन् । विगतको इतिहासमा जटिल समयमा पनि कम्युनिष्टले मुलुकको नेतृत्व गरेको स्मरण गर्दैे जलवायु परिवर्तनजस्ता मुख्य मुद्दाको अगुवाई वामपन्थीहरुले नै गर्नुपर्ने एमाले नेताहरुको तर्क छ । 

 

त्यस्तै मुलुकमा २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने, राष्ट्रिय पुँजी निर्माण, नागरिक शिक्षा, स्वास्थ्यको पहुँच लगायतका विषयमा वामपन्थीहरुले नै नेतृत्व लिनुपर्नेमा एमालेको पनि फरक धारणा छैन । 

यस्ता विषयहरुमा ठूला कम्युनिष्ट पार्टीका नेताहरुबीच समान धारणा रहेपनि पटक पटकको एकता पतन हुँदै आएका छन् । कम्युनिष्ट पार्टीमध्येकै दोस्रो ठूलो दल माओवादीले पछिल्लो समयसम्म पनि बारम्बार कम्युनिष्ट एकताको आह्वान गरिरहेको छ । तर एमाले भने वामपन्थीको नाममा तत्काल कुनै मोर्चा नबनाउने निर्णयमा पुगेको छ । 

पार्टीको पोलिटव्यूरो बैठकले नै छलफल गरेर एमालेले वामपन्थी मोर्चा नबनाउने आधिकारीक घोषणा गरेको हो । 

माओवादी केन्द्रकै पहलमा नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चा सक्रिय भइरहेका छन् । तर यसलाई एमालेले सत्ताको डिल र शक्ति संचय गर्ने माओवादीको रणनीतिक प्रयास मात्रै ठानेको छ । हुनत कम्युनिष्ट दलहरु करिब दर्जन हारहारीमा छन् ।

तर यी दलहरुसहितको वृहत एकता तत्काल सम्भव देखिँदैन । यद्यपि माओवादी केन्द्रले भने एमालेसहितका मध्यम आकारका कम्युनिष्ट दलहरुसँग एकताका लागि बारम्बार प्रयास गरिरहेको हो । तर माओवादीको यो चाहनाप्रति ठूलो कम्युनिष्ट दल एमालेले भने बेवास्ता गर्दै आइरहेको छ । 

भावी निर्वाचनमा पनि एक्लाएक्लै 

प्रचण्ड सरकारलाई नै विस्थापित गरेर सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले ७९ को चुनावमा छिटफुट बाहेक सबै स्थानमा एक्लै निर्वाचन लड्यो । एमालेविरुद्ध काँग्रेस र माओवादीसहितको गठबन्धन थियो । 

यसका बाबजुद एमाले संसदमा दोस्रो ठूलो दल बन्न सफल भएकोे छ । तर आउँदो निर्वाचनमा माओवादीले पनि एक्लै निर्वाचनको सामाना गर्ने औपचारिक निर्णय गरिसकेको छ । 

एमालेले पनि आउँदा निर्वाचनमा एक्लै लड्ने एजेन्डालाई निरन्तरता दिने निर्णय गरिसकेको छ । एमालेको यी निर्णय र गतिविधिहरुले पनि माओवादीको वर्तमान कम्युनिष्ट एकताको बहस निरर्थक बन्ने निश्चित छ । 

एमालेका एक तहका नेताहरुले पनि कम्युनिष्ट एकताको पक्षमा जोड दिने गरेका छन् । तर यसमा पार्टी नेतृत्व र त्यहाँका ठूलो समूह सहमत छैनन् । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update