News 24 Television
नागरिक भड्काउँदै सरकार : मन्त्रीको अभिव्यक्तिले ओलीलाई हैरानी

काठमाडौँ । नेपाली कांग्रेसको समर्थनमा २ वर्षे सरकारको साँचो सम्हालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्थायित्व र भ्रष्टाचार अन्त्यको कुरा गर्न कहिँ छुटाउँदैनन् । तर विभिन्न काण्डका आरोपीहरुलाई मन्त्री बनाएर आलोचना खेपिरहेका ओलीलाई मन्त्रिहरुको पछिल्लो गतिविधिले हैरान बनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै भन्दा बढी डस्ने भनेकै झापाको गिरिबन्धु टी इस्टेट प्रकरण नै हो । विपक्षी दलले मात्र होइन, सत्ता पक्षकै नेताहरुले पनि सदनदेखि सडकसम्म यो विषय उठाइरहेकै हुन्छन् । केन्द्रदेखि प्रदेश सरकारहरु पनि उसैगरी आलोचित छ । यद्यपि सुशासन र समृद्धिको कुरा भने प्रधानमन्त्री ओलीले हरेक सार्वजनिक मञ्चमा जोडतोडले उठाइरहेकै हुन्छन् । भ्रष्टाचार प्रकरणमा नागरिकलाई आश्वस्त पार्न सकस भइरहँदा ओली क्याबिनेटका मन्त्रीहरुको अभिब्यक्तिले झनै तनाव बनाइरहेको छ । 

सरकारका प्रवक्ता समेत रहेका एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले त सार्वजनिक कार्यक्रममै आईजीपीको ‘जिब्रो थुत्नुपर्ने’ अभिब्यक्तिले प्रधानमन्त्री ओलीलाई तनाव थपिदियो । मन्त्री गुरुङलाई बालुवाटारमै बोलाएर ओलीले सचेत गराउनु प¥यो । मन्त्री गुरुङको अभिब्यक्तिको विषय नसेलाउँदै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीपीडितलाई आघात पुग्ने गरी अर्को विवादित अभिब्यक्ति दिए । मन्त्री अधिकारीले बैंकबाट कम ब्याजमा पैसा लिने र सहकारीमा बढी ब्याजमा राख्ने र बीचको मुनाफा खाइराख्नेहरु आन्दोलनमा आएको अभिब्यक्ति दिए । 

गौरापर्वको कार्यक्रममा आफूविरुद्ध टुँडिखेलमा नाराबाजी गर्दा युवा पुस्तामाथि नै खनिएपछि ओलीविरुद्ध युवापुस्ता असाध्ये रुष्ट छ । काठमाडौं महानगरपालिकाका मेयरसँगको जुधाईले मन्त्री ओलीको लोकप्रियता घटिरहेको छ । प्रधानमन्त्री ओली भने पार्टी बैठकमा पनि सिङ्गो युवा पुस्ताप्रति आक्रोश पोखिरहेका छन् । पार्टी पोलिटब्यूरो बैठकमा पनि उनले समाजमा अराजकता र अनुशासनहिनता बढेको अभिब्यक्ति दिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए ।  

राजनीतिक दलहरु आगामी ८४ सालको निर्वाचन केन्द्रित छन् । मिसन ८४ भन्दै दलहरुले राजनीतिक गतिविधि बढाइरहँदा मुलधारका राजनीतिक दलहरुप्रति नै खासगरी युवा पंक्तिहरु रुष्ट बन्दै गइरहेका छन् । यस्तो अवस्थामा नागरिकलाई साथमा लिने भन्दा पनि सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीदेखि मन्त्रीहरुले सुरक्षा संयन्त्रदेखि आम नागरिकलाई भड्काउने अभिब्यक्ति दिइरहँदा कुनै पनि समयमा राजनीतिक दुर्घटना नहोला भन्न सकिँदैन । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update