News 24 Television
एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ?  

काठमाडौं । नेकपा एमाले संसदको दोस्रो ठूलो शक्ति हो । झण्डै ८ लाख पार्टी सदस्य रहेको दाबी गर्ने गरेको एमालेले ८४ को निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने योजना सार्वजनिक गरिसकेको छ । तर त्यही एमाले यतिबेला कुनै राजनीतिक दलबिनाको स्वतन्त्र मेयर बालेन शाहसँग जुधिरहेका छन् । 

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि मेयर बालेन्द्र शाह (बालेन) ले मापदण्ड अनुसारको संरचना नभएको भन्दै एल्फाबिटा कम्प्लेक्समा डोजर चलाउँदा एमाले नेता महेश बस्नेत प्रतिरक्षामा उत्रिएका थिए । बालेन शाह राजनीतिक दलहरुलाई समाजिक सञ्जालबाटै प्रहार गरिरहन्छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको वाक–युद्धले सिङ्गो एमालेलाई नै झस्काइदिएको छ । झण्डै ८ लाख पार्टी सदस्य रहेको दाबी गरेको संगठित शक्ति एमालेलाई झड्का दिने ताकत दलविहिन एक स्वतन्त्र ब्यक्ति बालेन शाहसँग होला त ? प्रश्न उठिरहेको छ । तर ओली र बालेनबीचको द्वन्द्व चर्किँदै गर्दा सर्वशक्तिमान एमाले अध्यक्ष ओलीको फेसबुक ‘अनफलो अभियान’ सशक्त बनिरहेको छ । 

बालेन र एमालेबीचको द्वन्द्वका कारण :

१. काठमाडौं उपत्यका भित्रका बागमती, विष्णुमती र मनोहरा नदी किनाराको २० मिटर जग्गा निर्माण निषेधित हुने सर्वाेच्च अदालतको २०८० पुस ३ गतेको परमादेश । 

२. एमाले प्रदेश सांसद रेखाकुमारी शर्माले १४ वर्षीया बालिकालाई घरेलु कामदारको रुपमा राखेर श्रम शोषण गरेको भनी मेयर बालेनको आरोप । 

३. काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तारका क्रममा एमाले नेतृत्वको तत्कालिन भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले गरेको अवरोध । 

४. झापाको गिरिबन्धु टी इस्टेटको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको बालेनको आरोप । 

५. बहत्तरको भूकम्पले भत्काई पुनर्निर्माणपछि ओलीले उद्घाटन गरेको धरहराबारे बालेको टिप्पणी र पार्किङबारे आरोप प्रत्यारोप । 

काठमाडौं उपत्यका भित्रका नदी किनाराको जग्गाबारे अदालतको परमादेशपछि गत साउन १६ गते काठमाडौं महानगरका मेयर बालेन शाहले तत्काल कार्यान्वयन गर्न भनि मेयरस्तरीय निर्णय गरेका थिए । त्यसको एक महिनापछि भदौ १६ मा एमाले जिल्ला कमिटीले ७ बुँदे ज्ञापन पत्र बुझाउँदै निर्णय सच्याउन बालेनलाई चेतावनीमुलक दबाब दियो । तर बालेन त्यसको प्रतिवादमा उत्रिए । एमाले प्रदेश सांसद रेखाकुमारी शर्माकै अपमान हुने गरी सामाजिक सञ्जालमा बहस छेडिदिए । एमालेको चर्को विरोधपछि बालेनको शर्मा सम्बन्धि स्टटस गायब भयो । तर बालेन आफूले स्टाटस नहटाएको दाबी गरेका छन् ।

विवाद चर्किँदै जाँदा बालेन समर्थकहरुले प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियान चलाइरहेका छन् । ओलीविरुद्ध बालेन समर्थकले सामाजिक सञ्जाल बहिष्कार अभियान नै चलाइरहँदा देशकै दोस्रो ठूलो शक्ति एमालेका अध्यक्ष ओलीको लोकप्रियतामै आघात पुगिरहेको छ । एमाले सांंसदले संसदमै कुरा उठाएर पार्टी निर्माण गरेर राजनीतिमा आउन बालेनलाई चुनौति नै दिए । यसैको आक्रोश समाज असभ्य र अराजक बनेको स्वयम् ओलीले सार्वजनिक मञ्चमै टिप्पणी गरिरहेका छन् । के साँच्चिकै सिङ्गो एमालेलाई नै धक्का दिने ल्याकत बालेनले राखेकै हुन् त ? यसको नतिजा आगामी निर्वाचनले स्पष्ट गर्ने नै छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update