News 24 Television
हसिनाका कारण भारत बंगलादेशबीच तनाव हुन सक्ने खतरा 

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएको एक महिना पुगिसकेको छ । राजनीतिक शरण दिएकी हसिनाबारे भारतले आफ्नो अन्तिम निर्णय के हुन्छ भन्ने खुलाई सकेको छैन । 

भारतले बङ्गलादेशको घटनालाई सुरक्षा, व्यापार र कनेक्टिभिटीका लागि धक्का र प्रभावको सम्भावित हानीको रूपमा हेरिरहँदा शेख हसिनाका विषयमा भारतसँग के विकल्प छ त ? 

अघिल्लो महिनाको पाँच तारिख बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आफ्नो मुलुकबाट भागेर भारत आएकी थिइन् । राजनीतिक शरण लिदै उनी भारत आएको पनि एक महिना बितिसकेको छ ।

भारत सरकारले उच्च गोपनीयता र कडा सुरक्षाबीच शेख हसिना र उनकी बहिनी शेख रेहनालाई भारतमा बस्ने व्यवस्था गरेको छ । तर अहिलेसम्म औपचारिक ढंगले उनीबारे अन्तिम निर्णय के हुन्छ भन्ने भारतले बताइ सकेको छैन । तर देशभित्रै भने हसिना झनझन अप्ठ्यारोमा पर्दै गएकी छन् । 

बंगलादेश सरकारले अघिल्लो साता हसिनाको सरकारी राहदानी रद्द गरिदिएको छ । यसले पनि उनी भारतमा कुन कानूनी हैसियतमा बसिरहेकी छन् भन्ने प्रश्न उव्जिएको छ । यद्यपी भारतसँग हसिनाका बारेमा तीन वटा विकल्प रहेको बताइएको छ । पहिलो विकल्पका रुपमा बंगलालादेशकी पूर्वप्रधानमन्त्रीका लागि कुनै सुरक्षित तेस्रो मुलुकमा शरण लिने व्यवस्था मिलाउने सक्ने सम्भावना पनि छ ।

दोस्रोमा शेख हसिनालाई राजनीतिक शरण दिएर तत्कालका लागि भारतमा नै रहने व्यवस्था गर्ने विकल्प पनि भारतसँग छ । यो बाहेक केही समयपछि बंगलादेशमा परिस्थितिमा सुधार भएको खण्डमा भारत हसिनालाई ढाका पठाउने विकल्पमा पनि जान सक्छ । पार्टी वा राजनीतिक शक्तिको आधारमा हसिनाको अवामी लीग बंगलादेशमा अहिलेसम्म कमजोर बनिसकेको छैन । देश फर्कने वातावरण बने हसिनाले स्वतः पार्टीको नेतृत्व पनि सम्हाल्न सक्छिन् । 

तर अन्तराष्ट्रिय मामिलाका जानकारहरु भारतका लागि पहिलो विकल्प सबैभन्दा उपयुक्त रहेको बताउँछन् । यदि शेख हसिना भारतमा नै बसिन् भने त्यसले दिल्ली र ढाकाबीचको सम्बन्धमा दरार ल्याउन सक्छ । भारत र बंगलादेशबीच सुपुर्दगी सन्धि रहेको छ । ढाकाले त्यही सन्धिलाई देखाउँदै शेख हसिनालाई सुपुर्दगी गर्न अनुरोध गरेको खण्डमा दिल्लीले कुनै न कुनै कारण देखाएर त्यसलाई खारेज वा सुुपुर्दगी गर्नु पर्ने हुन्छ । 

विज्ञहरुका अनुसार आफैले शरण दिएको हसिनालाई मुलुक फर्किएर न्यायिक प्रक्रिया सामना गर्न बंगलादेशलाई सुम्पिनु भारतको लागि कुनै व्यवहारिक विकल्प हुँदैन ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले गत अगस्ट ६ मा संसद्मा बंगलादेशको परिस्थितिबारे धारणा राख्ने क्रममा हसिना भारत आएको उल्लेख गर्दै ‘तत्कालका लागि’ भन्ने शब्दावलीको प्रयोग गरेका थिए ।

विदेशमन्त्रीको तत्कालका लागि भन्ने सम्बोधनले पनि भारत हसिनालाई लामो समय आश्रय दिइरहन चाँहदैन भन्ने बुझ्न सकिन्छ । भूराजनीतिक सम्बन्ध रहेको भारतले बंगलादेशको घटनालाई सुरक्षा, व्यापार र कनेक्टिभिटीका लागि धक्का र प्रभावको सम्भावित नोक्सानीको रुपमा हेरिसकेको छ । 

त्यस्तै छिमेकी मुलुकहरुमा हस्तक्षेप गर्ने गरेको आरोप खेप्दै आएको भारतलाई हसिनालाई लामो समय भारतमा राख्दा त्यही आक्षेप दोहोरिने खतरा छ । 

यो विषयमा पनि भारत सचेत बन्न सक्छ । त्यसैले पनि चाँडोभन्दा चाँडो हसिनाको विषयमा टुंगो लगाउने प्रक्रियामा भारत जाने सम्भावना रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update