News 24 Television
आज हरितालिका तिज पर्व मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज मनाइँदैछ । विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरी तिज मनाउने गर्छन् । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ ।

यसकारण पनि आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास रहेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । तिज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लागेको छ । 

पशुपति क्षेत्र विकास कोषले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शनका लागि आज बिहान तीन बजेदेखि नै चारै ढोका खोलिएको छ । पाशुपत क्षेत्रमा पूजाका लागि पुग्ने दर्शनार्थीले गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ती बासुकी हुँदै पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धेरै दर्शनार्थी एकै पटक पुग्दा मोबाइल सेवामा अवरोध नहोस् भनेर नेपाल टेलिकम र एनसेलले बिटिएस भ्यान प्रयोग ल्याउने छन् । 

सुरक्षाका लागि थप सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था गरिएको छ । सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले पिन निगरानी बढाएको कोषले जनाएको छ । 

नेपाली सेनासहितको टोलीले स्वास्थ्य सेवा सञ्चालन गरेको छ । त्यस्तै गौशाला वनकाली क्षेत्रमा सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । 

दर्शनार्थीका लागि तिलगंगा आँखा अस्पतालनजिकैको खुला स्थान, सिफल चौर र गुहेश्वरी पारीको खाली स्थानमा पार्किङको व्यवस्था मिलाएको छ । 

जितका दिन हुने भिडभाडका बेला चोरी हुन सक्ने भन्दै कोषले महंगा गरगहना लगाएर नआउनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update