News 24 Television
प्रचण्डको नयाँ योजना कब्जातर्फ, ओलीमाथि ट्रयाप ! 

काठमाडौं । सरकारको नेतृत्वबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शक्ति सञ्चयका लागि प्रयास जारी राखेका छन् । 

पार्टी बलियो नभई सत्ता प्राप्त हुन्न भन्ने बुझेका प्रचण्ड सत्ताधारी दल र प्रधानमन्त्री केपी ओलीविरुद्ध खरो पेश हुने र शक्ति सञ्चय गर्ने ध्याउन्नमा केन्द्रित बन्न थालेका हुन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान अवस्थामा कमजोर राजनीतिक धरातलमा छन् । पार्टीको शक्ति कमजोर बनिरहेको बेला पनि निर्णायक भूमिकामा रहेका प्रचण्ड पछिल्लो समय शक्तिबाट केहि पर पुगेका छन् । जसले गर्दा उनमा छटपटी पनि देखिन्छ । 

आफू नेतृत्वको सरकार ढालेर सरकारको नेतृत्व गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले र कांग्रेस सभापति शेरबहादुर देउवाले अधिनायकवादतर्फ मुलुकलाई लैजान खोजेको सन्देश प्रवाहमा प्रचण्ड र माओवादी नेताहरुको सक्रियता देखिन्छ । 

प्रचण्डले यतिमात्रै भनेका छैनन्, उनले  एमाले कसरी प्रतिगमनतर्फ जाँदैछ भन्ने विषयलाई समेत विश्लेषण गरिरहेका छन् । ओलीले जनयुद्धलाई संविधान, विस्तृत शान्ति सम्झौता र तत्कालीन नेकपाकालीन सहमतिबाट पछि फर्किएको रुपमा समेत ब्याख्या गरेको प्रवक्ता सापकोटा बताउछन् । 

माओवादी युद्धका कारण गणतन्त्र आएको दाबी गरेका प्रचण्डले ओली र कांग्रेसले मुलुकलाई पश्चगमनतर्फ लैजान खोजेकाले प्रतिपक्षमा रहेकाहरु मिल्नुपर्ने प्रस्ताव राखि रहेका छन् । 

ओलीको ब्रिफिङ छुट्टै

प्रचण्डले एमाले र प्रधानमन्त्री केपी ओलीविरुद्ध अनेक प्रहार गर्न थालेपछि एमाले पोलिटब्यूरो बैठकमा ओलीले प्रचण्डले षडयन्त्र गर्न खोजेको आरोप लगाएका छन् । 

प्रचण्डले सत्ता गुमेपछि एमाले र गठबन्धनप्रति अनेक षडयन्त्र गरिरहेको र भ्रमपूर्ण आरोप लगाउन थालेको भन्दै ओलीले यसको संस्थागत प्रतिवाद गर्न समेत भनिरहेका छन् । 

अझं प्रचण्डले नेपालको हालत बंगलादेश र श्रीलंका जस्तो हुन्छ भनेपछि ओलीले थप क्रोध पोखिरहेका छन् । प्रतिवादमा ओलीले सार्वजनिक कार्यक्रममा समेत नेपाल बंगलादेश वा श्रीलंका जस्तो नबन्ने जिकिर गरिरहेका छन् । एमालेपंक्ति भने ओलीले सत्ताको नेतृत्व गरेपछि अर्थतन्त्र सकारात्मक बन्दै गएको दाबी गरिरहेको छ । सेयर बजारलाई केन्द्रमा राखेर एमालेमा उत्साह देखिएपनि अर्थतन्त्रका अन्य सूचकमा परिवर्तन नदेखिएसम्म विश्वास गरिहाल्ने स्थिति भने छैन् ।

सत्तापछि खुलेको चेत

सत्तामा हुँदा कहिले कसलाई त कहिले कसलाई उपयोग गर्दै माओवादी केन्द्र नभए सरकार नै बन्दैन भन्ने गर्थे, प्रचण्ड । आफ्नो पार्टीसँग जादुयी नम्बर रहेको भन्दै सरकारको नेतृत्व गरिरहेको बेला प्रचण्डले माओवादी केन्द्रको शक्तिको विषयमा बखान समेत गरेका थिए । 

कांग्रेस एमाले मिलेपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र पछिल्लो समय तनावमा छ । जनतामा जाने भनेपनि आन्तरिक विवादले नेतृत्वमाथि प्रश्न उठ्ने र जनताले तत्काल पत्याईहाल्ने स्थिति नबन्ने अवस्था पनि छ । तर, कमजोर बनेपछि प्रचण्ड माओवादी घटकको एकता, वामपन्थी ध्रुविकरण, मोर्चा लगायतका विषयमा केन्द्रित बनेका छन् । 

सत्ता गुमेसँगै चेत खुलाएका प्रचण्ड पछिल्लो समय साना ठूला सबै वामपन्थी दल र समूहलाई समेटेर अघि बढ्ने मुडमा देखिएका छन् । तर, यतिबेला नै सत्ताको भाग आइपरे उनले के गर्लान ? जनतामा शंका भने छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update