News 24 Television
हिउँदमा सिंँचाइ गर्न प्लाष्टिक पोखरी

काठमाडौं । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरेको माथिल्लो भेग विभिन्न कृषि उपज उत्पादनका लागि प्रशस्त सम्भावना भएको क्षेत्र हो । तर यो क्षेत्र निकै सुख्खाग्रस्त हुँदा भनेजस्तो उत्पादन हुन सकिरहेको छैन । 

त्यसैले हिँउद याममा सिंचाई अभाव हुन नदिन अहिले यहाँका किसानहरुले प्लाष्टिक पोखरी बनाएर आकाशे पानी संकलन गर्न थालेका छन्  । 

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरे रानाटोलका विहुरमान आलेले केहि महिनाअघि घर नजिकै झन्डै ७० हजार लिटर क्षमताको प्लाष्टिक पोखरी निर्माण गरे । अहिले पानी परेको समयमा उनको घरको छानाबाट झर्ने पानी पाइपबाट सिंधै पोखरीमा सङ्कलन हुन्छ । 

हिउँदमा प्लाष्टिकको पोखरीबाट सहजै सिँचाइ सुविधा हुने भएकाले उनले आकाशे पानीको जोहो गर्न यो प्रविधि अपनाएका हुन् । 

लामो समयदेखि सिंचाईको समस्या झेल्दै आएका उनी अब आउने सुख्खा समयमा भने तरकारी बालीको सिंचाईका लागि विगतको जस्तो समस्या नहुनेमा ढुक्क छन् । 

राना टोलका अर्का कृषक देवबहादुर आलेमगरले पनि प्लाष्टिक पोखरी बनाएर आकाशे पानीजम्मा गरेका छन । पोखरीमा जम्मा भएको पानीले सिंचाईमा मदत पुग्ने र उत्पादनमा समेत बृद्धि हुने कुरामा उनि आशावादी देखिएका छन । 

बिहुरमान र देवबहादुरजस्तै साविक भदौरे गाविस ४ का झन्डै ५५ घरधुरीले आफ्नो घर नजिकै प्लाष्टिक पोखरी निर्माण गरेर आकाशे पानी संकलन गरेका छन् ।

यो क्षेत्र अति सुख्खाग्रस्त क्षेत्र भएकाले हिउँदको याममा खानेपानी र सिंचाईको लागि यहाँका बासिन्दाले निकै कष्ट भोग्दै आएका छन् । तर यस वर्ष भने स्थानीय सरकारले दातृ निकायको सहयोगमा रेन वाटर हार्भेष्टिङ कार्यक्रम ल्याएपछि अनुदानमा जस्ताको छाना भएका स्थानीयले प्लाष्टिक पोखरी बनाएर पानी संकलन गर्न थालेका हुन् । 

खरको छानो भएका स्थानीयलाई भने प्लाष्टिकको टयांकी उपलब्ध गराएर आकाशे पानी संकलनमा जोड दिइएको छ । 
विशेष गरी यो क्षेत्र कालोमास, सेतोमास, बोडी, भटमास लगायतका दलहन बाली खेतीका लागि उपयुक्त मानिन्छ ।

त्यस्तै, अदुवा, बेसार, गोलभेँडा, काउली लगायतका कृषिउपज पनि यहाँ प्रशस्त मात्रामा उत्पादनको सम्भावना रहेको छ । तर सिंचाई अभावकै कारण राम्रो उत्पादन गर्न नसकेका किसानलाई प्लाष्टिक पोखरीले भने राहत मिल्ने देखिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update