काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ४ अन्तरगत पर्ने ज्वालादेवी टोल माथि रहेको साबिक मच्छेगाऊ गा.बि.स. २ को कित्ता नंम्बर ०९ मा राजकुलो र सार्वजनिक जग्गा मिचेर निजि प्रयोजनका लागि सडक निर्माण थालिएको छ ।
कुलो र सार्वजनिक जग्गा नै मासेर भु–माफियाहरुले धमाधम जग्गा प्लटिङ्ग गरि रहेका छन् । सार्वजनिक जग्गामा प्लटिङ प्रयोजनले सडक खन्न थालिएपछि स्थानीयले विरोध गरेका छन् ।
यो कीर्तीपुर नगरपालिका ४ ज्वालादेवी टोल माथि रहेको साबिकको मच्छेगाऊ गा.बि.स २ को कित्ता नम्बर ०९ को दृष्य हो । केही समय पहिला यहाँ राज कुलो र गोरेटो बाटो थियो । तर अहिले यहाँ न राजकुलो छ न त गोरेटो बाटो नै । बरु भुमाफियाहरुले जग्गा प्लटिङ्ग गरेर राजकुलो र गोरेटो बाटो मास्दै धमाधम निजि प्रयोजनका लागि सडक निर्माण गरिरहेका छन् ।
यति मात्रै होइन उनीहरुले सो स्थानमा राजकुलो नै नरहेको दाबी समेत गर्ने गरेका छन् । तर स्थानीयहरु भने बषौं देखि यो स्थानमा राजकुलो र गोरेटो बाटो नै रहेको बताउँछन् ।
८१ बर्षीय ज्ञानबहादुर बस्नेतको पुख्र्यौली थलो नै यहि हो । ५ बर्ष अगाडिसम्म यो स्थानमा खोला नै थियो । तर अहिले प्लटिङ्ग गर्नेहरुले खोला मासेर सडक निर्माण गरेको उनको भनाइ छ । यसरी खोला मासेर सडक निर्माण गर्दा वर्षात्का बेला बाढीले यो स्थान भन्दा तल डुबानमा पर्ने गरेको उनको भनाई छ ।
स्थानीयको गुनासोपछि हामी स्थलगत रिपोर्टीङ्गमा उक्त स्थानमा पुग्दा पनि प्लटिङ्ग भन्दा माथिको र तलको खण्डमा राजकुलो देखियो । तर प्लटिङ्ग भइरहेको खण्डमा भने राजकुलोको नाम निसान थिएन । यस बिषयमा थप स्थानीयसँग बुझ्दा उनीहरुले यहाँ विगतमा राजकुलो नै रहेको बताए ।
राजकुलोको छेउमा भएको प्लटिङ्गमा अहिले भुमाफियाहरुले जग्गा खारेर करीब ३ सय वटा घडेरी निर्माण गरेका छन् । कतिपय घडेरी त उनीहरुले बिक्री समेत गरि सकेका छन् । तर घडेरी बेच्दा बिगतमा उनीहरुले नक्सामा राजकुलोलाई बाटो भनेर देखाए थिए ।
अहिले त्यहि राजकुलोमा उनीहरुले धमाधम सडक निर्माण गर्न थालेका हुन् । विगतमा जग्गा किन्दा बाटो भनेर देखाएको स्थानमा अहिले बाटो नै निर्माण गर्दा बिरोध गर्नु गलत भएको जग्गा किन्नेहरु बताउँछन् । प्लटिङ्ग संगै जोडिएका जग्गा धनिहरुले पनि राजकुलो माथि सडक निर्माण गर्न पाउनु पर्ने माग राखेका छन् ।
जग्गा प्लटिङ्ग गरिरहेका भुमाफियाहरुले अहिले आफुहरु अगाडि नदेखिएर प्लटिङ्गसंगै जोडिएका जग्गाका केही जग्गाधनी उचालेर राजकुलो माथि सडक निर्माण गर्न लगाएका छन् ।
केहीसँग सडक निर्माण पछि जग्गाको भाउ बढ्ने भन्दै पैसा समेत असुलेका छन् । यस बिषयमा राजकुलो मासेर भुमाफियाहरुले सडक निर्माण गरेपछि कीर्तीपुर नगरपालिकामा उजुरी समेत परेको थियो ।
नगरपालिकाले उक्त उजुरीका सम्बन्धमा छानबिन गर्दा राजकुलो र सार्वजनिक जग्गा नै मासेर व्यक्तिगत प्रयोजनका लागि सडक निर्माण भै रहेको पाए पछि काम रोक्न पत्राचार समेत गरेको थियो ।
नगरपालिकाको पत्राचार पछि पनि सडक निर्माण कार्य नरोकिए पछि प्रहरी नै लगाएर निर्माण रोक्न लगाएको कीर्तीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधकिृत बताउँछन् ।
नगरपालिकाले काम रोक्न प्रहरी नै लगाए पनि उनीहरुले अटेर गरेर केही मिटर बाटो ढलान गरिसकेका छन् भने बाँकी सडक निर्माण गर्ने तयारीमा छन् ।
यसरी राजकुलो र सार्वजनिक जग्गा मासेर सडक निर्माण गर्दा बर्षातका समयमा यसले ठुलो दुर्घटना निम्त्याउने देखिन्छ ।
२०६० सालमा राजकुलोमा बाढी आउँदा ओहोर दोहोरका लागि कुलो माथि निर्माण गरिएका साँगु समेत बगाएको थियो । अहिले यसरी खोला मासेर व्यक्तिगत प्रयोजनका लागि बाटो निर्माण गर्दा वर्षात्को समयमा धेरै स्थानीयको घर डुबानमा पर्ने भएकाले नगरपालिकाले खोला र सार्वजनिक जग्गाको संरक्षण गर्नु पर्ने केही स्थानीयको भनाई छ ।
विगतमा पनि भु–माफियाहरुले राजकुलो मासेर सडक निर्माणका लागि ग्राभेल ल्याएर खसाल्ने गरेका थिए । तर तत्कालिन वडा अध्यक्ष राजेन्द्र बाँनियाले उनीहरुको उक्त कार्य रोकेका थिए । गएको स्थानीय निर्वाचनमा बानियाँको कार्यकाल समाप्ती भएसंगै अहिले पुनः उनीहरु सक्रिय बनेर सडक निर्माण गर्न थालेका हुन् ।
भवन निर्माणको नमुना मापदण्ड, २०७१ तथा आधारभूत निर्माण मापदण्ड २०७२ अनुसार राजकुलो कायम भएको स्थानबाट दुबै तिर कम्तिमा १० फिटसम्म जग्गा छाडेर मात्र घर तथा संरचना निर्माण गर्न पाइने व्यवस्था छ ।
तर भुमाफियाहरुले जग्गा छाडेर प्लटिङ्ग गर्नु त परको कुरा राजकुलो नै मासेर व्यक्तिगत प्रयोजनको बाटो निर्माण गर्न लागि परेका छन् ।