News 24 Television
अगस्टमा बढे विदेशी पर्यटक, यो वर्ष १३ लाख नाघ्ने प्रक्षेपण 

काठमाडौं । अगस्टमा नेपाल भ्रमणमा ७२ हजार ७ सय १९ जना विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा झण्डै नौ प्रतिशतले विदेशी पर्यटकहरु बढेका हुन् । 

नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो वर्ष अगस्ट महिनामा ६७ हजार १५३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२२ मा ४१ हजार ३ सय ४  र सन् २०२१ मा ६ हजार ९३ जना मात्रै रहेका थिए । 

सन् २०२० मा भने जम्माजम्मी २६७ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए । सन् २०२० र २०२१ भने कोभिड महामारीका कारण विदेशी पर्यटकहरु घुमघामका लागि निस्केका थिएनन् । त्यसपछिका हरेक वर्षमा विदेशी पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । 

नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा नेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा धेरै भारतबाट रहेका छन् । भारतबाट २५ हजार ८३२ जना पर्यटक नेपाल घुम्न आएका छन् । दोस्रो धेरै पर्यटक चीनबाट आएका छन् । 

चीनबाट ६ हजार ६१४ जना र तेस्रोमा रहेको अमेरिबाट ५ हजार ६१४ रहेका छन् । त्यसैगरी, चौथोमा श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट  ३ हजार  ७७ जना पर्यटक नेपाल  भ्रमणमा आएको तथ्यांक रहेको छ । 

विदेशी पर्यटक नेपाल आउँदा उनीहरुले गर्ने सरदर खर्चको औसत आँकडा अनुसार यतिको संख्यामा पर्यटक नेपाल आउँदा ५ अर्ब रुपैयाँभन्दा बढि विदेशी रकम देश भित्रिएको छ । 

सन् २०२४ को सुरुवातीसँगै नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । तर, पछिल्लो समय भएका दुई ठूला हवाई दुर्घटना र भारतीय पर्यटक सवार बस दुर्घटनाले नेपालको पर्यटकीय छवि केही बिग्रिएको छ । यद्यपी सन् २०२४ मा पर्यटक आगमन १५ प्रतिशतले बढेर १३ लाख नाघ्ने अनुमान गरेको थियो ।

यता, सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजना अन्तर्गत नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना कार्यानव्यनमा ल्याईसकेको छ । जस अन्र्तगत सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य सरकारको छ । 

पछिल्लो केही महिना यताको मात्रै पर्यटक आगमनको तथ्यांक हेर्ने हो भने, सरकारको लक्ष्य पुरा हुने सम्भावना देखिएको थियो । तर, कमजोर पूर्वाधारले सरकारको योजनामा आशंका थपेको छ । 

सरकारले आफैले घोषणा गरेको पर्यटक दशकको कार्यक्रमलाई सक्रिय बनाएर आक्रामक प्रचार गर्न आवश्यक छ भने देशका विभिन्न राजमार्गको निर्माणसँगै स्तरओन्नतीको कार्य सकाउन जरुरी छ । 

 


 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update