News 24 Television
छरपस्ट ‘ओली–बालेन विवाद’, फेसबुकमा ‘अनफलो’ अभियान !

काठमाडौं । नेकपा एमाले र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको ‘घोचपेच राजनीति’ नयाँ होइन । महानगरको प्रमुखमा निर्वाचित हुनुअघि देखिनै मेयर बालेनले एमालेसहित अन्य दलको नेतृत्वमाथि उछित्तो काट्दै आएका थिए । यो क्रमलाई बालेनले मेयरमा निर्वाचित भएपछि पनि छाडेनन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै तार्गेटमा राखेका मेयर बालेनले अविच्छिन्न प्रहार गर्दै आएका छन् । हुनपनि मुलुक नेतृत्वको यतिका वर्षसम्म समृद्धि र सुशासनलाई स्थापित गर्न नसकेका नेतृत्वहरुमाथि बालेनले गरेको खबरदारी जायज नै छ । तर यही खबरदारीबाट सुरु भएको बालेन–एमाले द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । 

यहाँसम्मकी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक संजालमा बहिस्कार अभियान संचालन भइरहेको छ । 

मेयर बालेन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच धरहरा निर्माण, अन्डरग्राउन्ड पार्किङ, न्यूरोडको फुटपाथ व्यवस्थापन, चक्रपथ विस्तार, सुकुम्बासी बस्ती हटाउने विषय तथा गिरीबन्धु जग्गा प्रकरणमा पनि जुहारी चल्दै आएको छ । 

ओलीको यो जवाफ अघि मेयर बालेनले ओलीमाथि गिरीबन्धु जग्गा प्रकरणको १० हजार करोड काण्ड लुकाउन न्यूरोडको सडक विस्तारको विषयमा लफडा निकालेको आरोप लगाएका थिए । 

ओली–बालेनबीचको पछिल्लो द्वन्द्व के हो ? 

काठमाडौं महानगरका मेयर बालेन शाह सुरुका दिनदेखि नै उपत्यकाका नदीहरुको अस्थित्व कायमै रहोस् भन्ने द्येयकाका साथ काम गरिरहेका छन् । 

यही सवालमा सरकारले केही दशक अघि नै बागमती, विष्णुमती र मनोहरा नदीका लागि दायाँबायाँ २० मिटरको मापदण्ड तोकेको थियो । तर गत पुस ३ गते सर्वोच्च अदालतले निर्धारित मापदण्डमा पनि थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो । 

यसलाई मेयर बालेनले कार्यान्वयनमा लैजाने तयारी अनुरुप सूचना जारी गरे । तर यो विषयमा महानगरबासी आक्रोशित छन् । यही आक्रोशलाई समर्थन गर्दै एमाले बालेनविरुद्ध संगठितरुपमै विरोधमा उत्रिएको छ भने, उसले महानगरलाई ज्ञापनपत्र पनि बुझाइसकेको छ । 

आफूविरुद्ध एमाले पङ्ति नै लागेपछि मेयर बालेनले पनि केही महिना अघिको प्रशंग निकालेर एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालिका बन्धक बनाएको आरोप लगाउँदै उनलाई पक्राउ गर्नुपर्ने आवाज उठाए । 

महानगरको टोलीले यसअघि जेठमा धुम्बाराहिस्थित सांसद शर्माको घरबाट करिब १४ वर्षीया बालिकालाई उद्धार गरेको थियो । सांसद शर्माले घरमा अत्याधिक श्रममा लगाउने, कुटपीट गर्ने तथा अभिभावक भेट्नसमेत नदिएको सूचनाका आधारमा महानगरले ती बालिकाको उद्धार गरेको दावी गरेको छ । 

यसपछि  महानगरको टोलीले सांसद शर्माविरुद्ध प्रहरीरीमा उजुरी दिएको थियो । तर यही कदमविरुद्ध उद्धार गरिएकी बालिकाकै परीवारले काठमाडौं महानगरपालिका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । 

जसमा उनको परिवारले आफ्नी छोरीलाई महानगरले अपहरण गरेको उल्लेख गरेको थियो । तर सर्वोच्चले उक्त रिट खारेज गर्दै महानगरले बालिकालाई बन्धक नबनाएको फैसला सुनायो । 

यसको साथै अदालतले सन्तानको संरक्षक जैविक अभिभावक भएपनि को संग बस्ने ? भन्ने निर्णय स्वयम् बालिकालाई नै गर्न भनेको थियो । जसमा ती बालिकाले महानगरकै संरक्षणमा बस्ने जवाफ दिइन् । यो निर्णयपछि बालिका अहिले महानगरकै संरक्षणमा छिन् । 

बालिकाको परिवारले लगाएको मुद्धा आदालतले खारेज गरेको र आफूहरुले उद्धार गरेको विषय जायज भएकाले सांसद शर्माले ८ वर्षदेखि बालिका बन्धक बनाएको विषय पुष्टि भएको भन्दै बोलेनले सांसद शर्मालाई पक्राउ गर्न सामाजिक संजालमा प्रधानमन्त्रीलाई नै खबरदारी गरेका हुन् । 

बालेनको यो पोष्टले सामाजिक संजाल र एमाले संगठन नै तरंगित भयो । सांसद नै पक्राउ गर्नुपर्ने भनेपछि बालेनकाविरुद्ध एमाले पङ्ति नै खनिएको छ । महानगरको संरक्षणमा आएकी बालिकाले पटक–पटकको काउसिलिङमा सांसद शर्माबाट अत्याचार भएको पुष्टि हुनेगरीकोे वयान दिएको महानगरको दावी छ । 

अदालतको अन्तिम फैसलाले रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने भन्दै प्रहरीलाई अनुसन्धान गर्ने बाटो खुलेको पनि महानगरको दावी छ । 

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीलाई लिखित र मौखिक रुपमै पटक पटक ताकेता गरेतापनि कुनै जवाफ नआएको महानगरले जनाइरहेको छ । यी तथ्यहरुलाई नै सार्वजनिक गर्दै मेयर बालेनले आफूविरुद्ध खनिने कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीति गराउन प्रधानमन्त्री ओलीलाई खबरदारी गरेका छन् । सामान्य ज्ञान पनि नहुँदा ओली अहिले अरुबाटै परिचालित भइरहेको पनि बालेनको आरोप छ । 

कसरी थालनी भयो केपी ओली ‘अनफलो’ अभियान ? 

सांसद रेखा शर्मालाई कहिले पक्राउ गर्ने वा नगर्ने ? भन्दै बालेनले ओलीमाथि प्रश्न गरेपछि यो विषयले उग्र रुप लिएको हो । यो विषयले समाजिक संजाल तातिएकै बेला ओलीमाथि प्रश्न गरिएको बालेनको उक्त पोष्ट डिलिट भयो । 
पोष्ट डिलिट भएको विषयमा बालेनले सरकारमाथि नै आरोप लगाइरहेको छन् । एकाएक पोष्ट गायव भएको विषयमा कतिपयले बालेनले आँफै हटाएको भन्दै आलोचना गरिएको थियो । तर वास्तवमा सरकारले नै पोष्ट डाउन गराइदिएको बालेनले प्रष्टोक्ति दिएका छन् । 

मंगलबार साँझ नै बालेनले स्टाटसमा भनेको छन् – ‘पोष्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

बालेलनले स्पष्ट रुपमै यो भनाइ राखेपछि उनका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज अनफलो अभियान चालाएका हुन् । 

अभियानपछि ६ लाख ६२ हजार रहेको ओलीको फलोर्आ करिब एक लाखले घटिसकेको छ । अहिले पनि  ओलीको फलोअर्स निरन्तर घटिरहेको छ । 

बालेनले प्रष्टिकरण दिएको १७ घण्टा नपुग्दै ओलीको ६६ हजार फलोअर्स घटेका थिए । यो अभियानलाई काउन्टर दिदै एमाले कार्यकर्ताहरुले पनि बालेनको पेज अनफलो अभियान चलाइरहेका छन् । तर यो अभियानले बालेनको पेजमा भने खासै प्रभाव पर्न सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update