News 24 Television
रविलाई जेल हाल्ने संकेत, स्वार्थको राजनीतिले ‘तीन बल्ड्याङ’

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सत्ता राजनीतिको कोपभाजनमा पर्ने प्रष्ट देखिन्छ । 

कुनैबेला सहकारी ठगीमा रविको संलग्नता कतै भेटिन्न भन्ने प्रहरी नेतृत्व पछिल्लो समय हतार–हतार बयान लिने होडमा जुटेको छ भने रविमाथि कुण्ठा साँधियो भन्ने एमाले अनुसन्धानको सुई तेस्र्याउने लहडमा जुटेको छ । 

रवि लामिछाने टेलिभिजनको धनी हुनु र संगत गितेन्द्रबाबु राई जीबीसँग हुनुले उनको सत्ता राजनीतिमा ठूलो तनाव थपिदिएको छ । जीबी राईले सहकारी ठगी गर्दै ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको विषयमा अनुसन्धान चलिरहँदा यसको प्रत्यक्ष प्रभावमा परेका छन, रवि लामिछाने ।

रविले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । तर, उनी एमडी रहेको संस्थामा सहकारीको करोडौं रकम गएको छ भने केहि रकम रविकै नाममा समेत गएको छ । तर, यो विषय अब सत्ताको खेल बन्न पुगेको छ ।

माओवादी केन्द्र, एमाले र रास्वपासहितको गठबन्धन सरकारको बेला कांग्रेसले रविमाथि अनेक प्रश्न गरिरहेको थियो । सहकारी ठगीमा रविको संलग्नता रहेको प्रमाण छ भन्दै कांग्रेसले संसद नै अवरुद्ध ग¥यो । त्यसपछि संसदीय समितिमै प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उपस्थित गराउदै रविले आफ्नो नामबाहेक केहि नभएको दाबी गरे । 

रविको यस्तो दाबीलाई बल पुग्ने गरि प्रहरी प्रमुख कुँवरले पनि उनको नाममा ठगीका कुनै प्रमाण नदेखिएको भन्दै ठाडो उजुरीबाहेक केहि नभएको बयान दिए । 

तत्कालीन समयमा रविको संलग्नता नरहेको दाबी गर्ने प्रहरी पछिल्लो समय बयान लिईरहेको छ । संसदको सहकारी छानबिन समितिले भदौ ७ गते रविको १० घण्टा लामो बयान लियो । 

समितिमा राति अबेरसम्म बयान लिईएपनि प्रहरीले ८ गते नै बयान लिने तयारी ग¥यो । तर, रवि चितवन पुगिसकेकाले समय मिलाएर पोखरा आउने जवाफ दिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौंमै रविको १० गते बयान लिइयो । 

कुनैबेला रविको संलग्नता छैन भन्ने प्रहरीले बयान लिनु सामान्य र स्वभाविक विषय भएपनि यो विषयमा राजनीतिक रंग पनि मिसिन थालेपछि रवि सहकारी ठगीको आरोपसँगै सत्ताको कोपभाजनमा परेका छन् । 

संसदमा पनि सवाल–जवाफ

संसदमा पनि कांग्रेस–रास्वपावीच सवालजवाफ चर्किन थालेको छ । कांग्रेस महामन्त्री गगन थापा र रास्वपा सभापति रवि लामिछानेबीच चलिरहेको जुहारी पनि रोचक छ । रविले संसदमा प्रमाण देखाउन चुनौति दिइरहेका छन भने उनको पार्टी पनि यहि लाइनमा प्रतिरक्षामा उभिएको छ । 

रवि र रास्वपाका सांसदहरुले निरन्तर प्रश्न गर्न थालेपछि गगन थापाले पनि प्रतिकात्मक रुपमा जवाफ भने दिइरहेका छन् । बयान दिएको र फैसला कुर्न आग्रह गर्दै गगनले प्रतिप्रश्न गरेका छन् ।

कांग्रेस पहिलेदेखि नै सहकारी ठगीमा रविको संलग्नता रहेको दाबी गर्नेमा परेपनि एमाले तत्कालीन समयमा रविमाथि कांग्रेसले अनावश्यक राजनीति गरेको दाबी गर्ने गर्थ्यो । 

राजनीतिको चेपुवामा रवि

सहकारी ठगी प्रकरणमा एउटै संस्था र व्यक्तिले राजनीतिक परिस्थिति फेरिएपछि बोली र व्यवहार पनि फेर्ने विषय रोचक बन्न पुगेको छ । 

रविको सहकारी ठगीमा संलग्नता नरहेको दाबी गर्ने एमाले पछिल्लो समय रविविरुद्ध अनुसन्धानलाई तीब्र बनाएको छ । भने प्रहरी नेतृत्व पनि यसमा खुलेरै लागेको छ । 

सत्ता राजनीतिको प्रभावले अपराध अनुसन्धानमा समेत प्रभाव पर्ने यो प्रकरणले प्रष्ट देखाएको मात्रै छैन्, राजनीतिक समिकरणसँगै अपराधको समेत वर्गिकरण हुन्छ भन्ने सन्देश दिएको देखिन्छ । यस्तो स्थितिमा रवि पनि राजनीतिको दुष्चक्रमा भने फसेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update