News 24 Television
पोखरा–मुङलिङ सडक नबन्दा सुस्तायो पोखराको पर्यटन, यात्रुलाई घोर सास्ती 

राजु गिरी । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुग्लिङ सडकको पश्चिम खण्डको तीन वर्षे ठेक्का सम्झौताको म्याद भदौ १२ गते सकियो, तर यो तीन वर्षमा काम भने जम्मा ३० प्रतिशतको हाराहारी मात्रै भयो । 

विकास निर्माणको काममा हुने ढिला सुस्तीको एउटा गतिलो उदाहरण हो–पोखरा मुग्लिङ सडक खण्ड । तीन वर्षमा जति सडक बन्यो आगामी दिनमा पनि त्यही अनुपातमा सडक बन्ने हो भने यो सडकखण्ड निर्माण सम्पन्न हुन अझै कम्तिमा पनि सात वर्ष लाग्न सक्छ । 

ठेक्का सम्झौता अनुसार काम भएको भए अहिले पृथ्वी राजमार्ग अन्तर्गत जामुनेदेखि पोखरासम्मको ३९ किलोमिटर सडकमा अहिले सरर गाडी चल्नुपर्ने हो । तर यो सडकको यात्रा अहिले निकै कष्टकर छ । 

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलोले यात्रालाई निकै कष्टकर बनाएको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार पछिल्लो तीन वर्षमा यो राजमार्ग विस्तार भइसक्नुपर्ने हो, तर अहिलेसम्म जम्मा ३० प्रतिशतको हाराहारी मात्रै काम भएको छ । 

६ लेनको ३९ किलोमिटर सडकमध्ये जम्मा २१ किलोमिटर सडकमात्र कालोपत्रे भएको छ । चिनिया निर्माण कम्पनी यनहुइँ काईयुयन हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले म्याद थपको माग गरेपछि अहिलेको लागि १०० दिनको म्याद थप गरिएको योजनाका सूचना अधिकारी इन्जिनियर नारायण पौडेल बताउँछन् ।

ठेक्का सम्झौता भएको झण्डै ६ महिनासम्म कोभिडका कारण काम हुन नसकेको तथा खानेपानीको पाइप, बिजुलीका पोल तथा साइट क्लियर गर्ने जस्ता काममा  समस्या उत्पन्न हुँदा काममा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । 

तर अब सन् २०२५ को डिसेम्बरसम्ममा काम सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । 

मुग्लिङ पोखरा सडकको पश्चिम खण्ड अन्तर्गत तनहुको शुक्ला गण्डकीको हलेदी, बेलचौतारा, म्याग्देको जामुने, पोखराको मजुवा र चाउथेमा खण्ड खण्ड गरेर कालोपत्रे गरिएको छ । 

यो बाहेक भित्तो कटान, नाली, कलभर्ट र पिचको बेस बनाउने काम भइरहेको छ । पश्चिम खण्डमा मात्रै ४ वटा ठूला र ८ वटा साना पुल बन्दैछन् । पश्चिम खण्डमा दुईवटा ठेक्का छन् । 

जसमा पोखराको सेती नदीको पुलको ठेक्का रसुवा कन्स्ट्रक्सन प्रालीले पाएको हो । यसको ठेक्का सम्झौता अनुसार अब १ वर्ष भित्र पुल निर्माण गरि सक्नुपर्नेछ । 

समयमा राजमार्ग विस्तार हुन नसक्दा पृथ्वी राजमार्गको यात्रा अहिले निकै कष्टकर छ । जसको प्रत्यक्ष असर स्थानीयले र पोखराको पर्यटन व्यवसायले भोग्नु परिरहेको छ ।  

राजमार्गको दुरावस्थाको कारण सडकमार्ग भएर पोखरा आउने पर्यटकको संख्यामा निकै गिरावट भएको पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरी भुजेल बताउँछन् ।

अधिकांश विकासका काममा सरकारी निकायहरू बीचमै समन्वय नहुँदा कामले गति लिन सक्दैन । पृथ्वी राजमार्गमा पनि यही समस्या देखा परेको छ । 

मुग्लिङ पोखरा सडक योजनाको पश्चिम खण्डका लागि मात्रै सडक स्तरोन्नतिमा ७ अर्ब ४० करोड ठेक्का रकम हो भने सेती नदीमा पुलको लागि मात्रै १ अर्ब ७ करोड २४ लाखमा ठेक्का सम्झौता भएको थियो । 

एसियन विकास बैंक एडिबीको ऋण सहायतामा बन्न लागेको यो सडकको ढिला सुस्तीले बुढापाकाहरूले भन्ने गरेको ’सरकारी काम कहिले जाला घाम’ भन्ने उखानलाई चरितार्थ पारेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update