काठमाडौं । महाभारत श्रृंखला भन्दा माथि मध्य पहाडका २६ जिल्लाहरु रा २ सय १५ वस्तीहरुलाई जोड्ने गरी बनाइदै गरेको पुष्पलाल मध्य पहाडी लोकमार्गलाई नेपालको कायापलट गराउने राजमार्ग ठानिएको छ ।
नेपाल सरकारको आन्तरिक श्रोतवाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी आर्थिक वर्ष २०६४÷०६५ देखि मध्य पहाडी राजमार्ग आयोजना संचालनमा रहेको छ ।
सरकारले आर्थिक वर्ष २०६९\०७० देखि यो आयोजनालाई “राष्ट्रिय गौरवको आयोजना” घोषणा गरी उच्च प्राथमिकतामा राखेको छ । यो राजमार्गमा लगानी र प्राविधिक लगायतका सबै स्वदेशी नै रहेका छन् ।
त्यसैले पनि नेपालको यति ठूलो आयोजना देशभित्रकै पूजी र प्राविधिकबाट हुनु देशकै लागि ठूलो अनुभव हासिल गर्ने अवसर पनि हो ।
आयोजना सम्पन्न भई सम्पूर्ण सडक खण्डहरु कालोपत्रे स्तरमा पुगेपछि र प्रस्तावित सबै पुलहरुको निर्माण कार्य सम्पन्न भई सकेपछि मध्यपहाडी क्षेत्र हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै निर्वाध रुपमा यातायात संचालनमा आउने छ । मध्यपहाडी राजमार्गको प्रारम्भ बिन्दुः पाँचथर जिल्लाको पुर्वी भेगमा पर्ने नेपाल भारत सीमा चियोभन्ज्याङ्गबाट सुरु हुन्छ भने बैतडी जिल्लाको नेपाल भारत सीमामै पर्ने झुलाघाट पुगेर सकिन्छ ।
मध्यपहाडी राजमार्ग तराई क्षेत्रमा रहेको पूर्वपश्चिम राजमार्गकै शैलीमा पहाडी भूभागहरुमा सञ्चालनमा आउने छ ।
सडक सञ्जालको विकासलाई आत्मसात गर्दै नेपालको मध्य पहाडी भुभागका जिल्लाहरुलाई यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको सन्तुलित विकास गर्ने अभिप्रायले निर्माण थालिएको मध्यपहाडी राजमार्ग करीब १८७९ किलोमिटर लामो रहेको छ ।
सुरुवाती बजेट करिब ३५ अर्ब रुपैयाँ आंकलन गरिएको राजमार्गको लम्बाई बढ्दै जाँदा यो राजमार्ग सम्पन्न भइसक्दा ८५ अर्ब रुपैयाँ जति खर्च हुने अनुमान गरिएको । २०६७ देखि यो राजमार्ग दुई खण्डमा निर्माण भइरहेको छ । राजमार्ग २०८३÷०८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
राजमार्ग अहिलेसम्म १४ सय किलोमीटरभन्दा बढि निर्माण भइसकेको छ भने बनेका सडकखण्ड प्राय कालोपत्रे समेत भइसकेको छ । नुवाकोटको केही भाग र गोरखा धादिङमा सडक निर्माण बाँकी नै छ ।
मध्यपहाडी किन महत्वपूर्ण ?
मध्यपहाडी राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएपछि पहाडी भूभागका ५० लाखभन्दा बढिलाई सडक सुविधा उपलव्ध हुनेछ । यो राजमार्गको रेखांकनभित्र पर्ने विभिन्न जिल्लाहरुमा १० वटा आधुनिक सहर निर्माण गर्ने लक्ष्य पनि राखिएको छ । सहर निर्माण हुँदा यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुन गई यस क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्यसबाहेक सहर र सडक सुविधा भएपछि पहाडी क्षेत्रहरुबाट सुगम खोज्दै तराई वा काठमाडौँ जस्ता सहरमा बसाई सर्नेहरुको संख्यामा पनि कमी आउन सक्छ । त्यस्तै पहाडी क्षेत्रका उत्पादनहरु सहजरुपमा बजारीकरण हुने र यस क्षेत्रमा रहेका कैयौ पर्यटकीय गन्तव्यहरुमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने पनि निश्चित छ ।