News 24 Television
भैरहवामा तीन पाङ्ग्रे सवारी सञ्चालनका लागि मापदण्ड बन्यो

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रमा अटो, टेम्पो तथा इ–रिक्सा व्यवस्थापन टाउको दुखाई बनिरहेको छ । २०७८ मा कार्यविधि बनाएर व्यवस्थापन गर्न खोजिए पनि दर्ता गर्न आउनेको संख्या न्युन छ । दर्ताविनै छ्याप्छ्याप्ती संचालन गरिँदा यसले दर्तावाला समस्यामा परेका छन् भने नगरको राजस्व समेत गुम्दै गएको छ । तर दैनिक बढिरहेका यस्ता तीनपांग्रे सवारीलाई नियन्त्रण गर्न कठिन बनिरहेको छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रमा तीन पाँग्रे सवारी संचालन अब्यवस्थित छ । जथाभावी पार्किङ, दर्ताविना नै संचालनले दुर्घटनाको जोखिम पनि उस्तै छ । 

लुम्बिनी प्रवेशद्वारको रुपमा रहेको यो नगरपालिकामा कतिपय अवस्थामा भारत तथा तेस्रो मुलुकबाट भित्रिने विदेशी पर्यटकहरु समेत ठगिएको गुनासो आइरहेका छन् । 

दर्ता विना सवारी संचालन हुँदा नगरको राजस्व पनि गुमिरहेको छ । नगरपालिकाको कार्यविधि कार्यान्वयनमा आउन सकिरहेको छैन । 

त्यसैले यहाँका जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा अधिकारी, अटो, टेम्पो तथा इ–रिक्साव्यवसायी र चालकहरु साझा मापदण्ड तय गरि ब्यवस्थित बनाउने प्रयासमा लागेका छन् । 

ब्लुबुक, बीमा र चालक अनुमतीपत्र अनिवार्य गरी नगरपालिकाले दर्ता गर्ने, सर्भिस लेन र नगरकाभित्री सडकमा संचालन गर्नुपर्ने, नगरमा दर्ता भएपछि रुट इजाजत लिनु पर्ने, निर्धारित भाडादर भन्दा धेरै लिन नपाइने, तोकिएको पार्किङ स्थलमा मात्र पार्किङ गर्नुपर्नेे, नगरमा दर्ता भएको संकेत सवारी साधनको अगाडीको भागमा राख्नु पर्ने लगायत मापदण्ड बैठकले तय गरेको छ । 

गैरनेपाली नागरिक र नगरमा दर्ता नभएका तीनपांङ्ग्रे सवारी संचालन गर्न प्रतिबन्ध लगाइने छ । नगरमा  तत्कालकालागि बढीमा ५ सय यस्ता सवारी दर्ता खुल्ला गर्ने मापदण्ड पनि बनाइने भएको छ । त्यसका लागि नगरपालिकाले २०७८ मा बनेको यस सम्बन्धि कार्यबिधि संशोधन र परिमार्जन गरिने छ ।

मापदण्ड पालना भए–नभएको अनुगमन गर्न ५ सदस्यीय टोली बन्ने छ । यो मापदण्ड पालना गराउन २१ दिनको समयसीमा तोकिएको छ । तोकिएको मापदण्ड पालना गर्न व्यवसायी र चालकले सहमति जनाएका छन् । 

नगरमा दर्ता भएका सवारीको संख्या १ सय ८४ मात्र छ । तर नगरमा १ हजार भन्दा बढी यस्ता सवारी सञ्चालनमा रहेका छन् ।

सर्वपक्षीय सहमतिबाट तय गरिएका मापदण्ड अनुसार काम हुन सकेमा ब्यवस्थित र केही सहज हुने निश्चित छ । 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update