काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले एनसेलबाट अर्बौैं वक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले एनसेलको वक्यौता रकम असुली गर्नु पर्दैन ? भन्दै सरकारलाई प्रश्न गरे । सांसद भण्डारीले एनसेल र विद्युत प्राधिकरणकाे बक्याैता रकम उठाउन नसकिने, जहाजहरु ग्राउन्डेट हुने लगायतका विषयहरु बाहिर आउँदा पनि सरकारलाई चिन्ता नभएको भन्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरे । उनले प्रजातन्त्र केही सिमित व्यक्तिहरुको लुटतन्त्रमा परिणत भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद भण्डारीले भने, ‘सधैँ एनसेल । कहिले ६५ अर्ब तिरेन । कहिले विद्युतको पैसा तिरेन । कहिले के ? यो के नाटक हो ? यो के नाटक हुँदैछ ? त्यसकारण यसको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्छ । सरकारले यसको जवाफ दिनुपर्छ । एनसेलले पैसा तिर्नुपर्दैन ? जनतासँग पैसा लैजाने, चलाउने । जनतासँग पैसा लिएपछि सरकारले उठाउनु पर्र्दैन ? कुन न कुनै गडबढी नभई बत्तिको बिल उठाउनु झगडा, पैसा तिर्नका निम्ति झगडा, प्लेनहरु ग्राउन्डेट हुने समस्या । के यो मुलुकमा सरकारलाई चिन्ता छैन ? सरकार के का निम्ति ? सरकार के का निम्ति ? प्रजातन्त्र के का निम्ति ? केही सीमित व्यक्तिहरुलाई ब्रह्मलुट गर्नका लागि हो ? यो प्रश्न उठेको छ । म आदरणीय सभामुखमार्फत यसको जवाफ सरकारले तुरुन्त दिनुपर्छ । यसको रुलिङ पनि गर्नुपर्छ भन्ने म माग गर्न चाहन्छु ।’
सांसद भण्डारीले विकास, निर्माणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।