News 24 Television
तितेपाती र वनमारा फाँड्ने मन्त्री बन्दिनँ : दीपक मनाङे

पोखरा । केन्द्रीय सत्ता परिवर्तनको दुई महिनापछि बल्ल पूर्णता पाएको गण्डकी सरकारलाई पहिलो दिनमै ठेस लागेको छ । कांग्रेसको कोटाबाट मन्त्रीमा निरन्तरता पाएका स्वतन्त्र सांसद दीपक मनाङ्गेले चाहेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका छन् ।  कम प्रभाव भएको मन्त्रालय दिएको र आफ्नो वरीयता समेत घटाएको भन्दै मनाङेले राजीनामा दिएका हुन् । उसोतः मनाङ्गेको राजीनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वीकृत गरिसकेका छन् । 

सोमबार दिउँसो १ः३० बजे एमालेबाट बनेका मन्त्रीहरूका लागि प्रदेश प्रमुखको कार्यालयले शपथ कार्यक्रम तय गरेको थियो । शपथ ग्रहण नसकिँदै गण्डकी सरकारमा असन्तुष्टि देखियो । अप्ठ्यारो स्थितिमा साथ दिएको भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसकै कोटाबाट मन्त्रीमा निरन्तरता दिएका स्वतन्त्र सांसद राजिव गुरुङले मन्त्री पदबाट राजीनामा दिएका छन् । भौतिक पूर्वाधार मन्त्री रहेका गुरुङलाई एमाले सरकारमा आउने भएपछि बाँडफाँड गर्दा वन तथा वातावरण मन्त्रालय भागमा परेको थियो । आफूले चाहेको मन्त्रालय नपाएको झोकमा मन्त्री गुरुङले तत्कालै मुख्यमन्त्री कार्यालयमा आफ्नो राजीनामा पठाएका थिए । न्यूज २४ टेलिभिजनसँगको कुराकानीमा सांसद गुरुङले तितेपाती र वनमारा फाड्ने मन्त्रालयको जिम्मा आफूले नलिने बताएका छन् ।

अब मुख्यमन्त्री पाण्डेले राम्रो मन्त्रालय दिए भने फेरि मन्त्री बन्नुहुन्छ भन्ने प्रश्नमा गुरुङले अब आफू मन्त्री नबन्ने प्रतिक्रिया दिएका छन् । 

मनाङबाट निर्वाचित राजिव गुरुङ अहिलेसम्म ६ पटक मन्त्री बनिसकेका छन् । सोमबारै एमाले गण्डकी सरकारमा सहभागी भएको छ । एमालेको तर्फबाट मन्त्री बनेका चारजना सांसदलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका छन् । एमालेबाट नियुक्त भएका मन्त्रीहरूको कार्य विभाजन पनि भइसकेको छ । कार्य विभाजन अनुसार पद्मा जिसी कृषि भूमि व्यवस्था तथा सहकारी, मित्रलाल बस्याल उद्योग तथा पर्यटन, कृष्ण पाठक स्वास्थ्य र प्रकाश केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । 

यसअघि सरकारमा रहेका कांग्रेस सांसद डाक्टर टकराज गुरुङले आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाएका छन् भने बिन्दुकुमार थापाले सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । स्वतन्त्र सांसद राजिव गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको थियो भने नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले काङ्ग्रेसकै कोटाबाट ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update