News 24 Television
छोरीको सफलतामा आमाबाबु गदगद, ओलम्पिकमा पदक जितेपछि सर्वत्र चासो

काठमाडौँ । नेपालले पहिलोपटक सन् १९६४ मा जापानको टोकियोमा आयोजित ओलम्पिकमा सहभागिता जनाएको थियो । त्यसयता नेपाल निरन्तर ओलम्पिकमा सहभागि हुँदै आइरहेको छ । नेपाल ओलम्पिकमा सहभागि भएको ६० वर्ष बितिसकेको छ । नेपालले ओलम्किपका सबै संरचनाहरुमा सहभागिता जनाउँदै आएको छ । यति लामो समय बितिसक्दा पनि नेपालले ओलम्पिकमा कुनै पनि संरचनामा आधिकारिक पदक जित्न सकेको थियो । तर फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा गत शुक्रवार राति भएको एउटा खेलपछि भने ओलम्पिकमा पदकविहिन बन्दै आइरहेको नेपालको वर्षौदेखिको शुन्यता तोडिएको छ । 

तेक्वान्दो खेलाडी पलेशा गोबर्धनेले ऐतिहासिक कास्यपदक जितेर इतिहास रचेकी हुन् । पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने प्रतियोगिता हो । शुक्रवार राति भएको खेलमा के–फोर्टी फोर वर्ग अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा पलेशाले कास्य पदकको भिडन्तमा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै नेपालका लागि इतिहास  रच्न सफल भएकी हुन् । 

पलेशाले प्रतिष्पर्धा गरेको के–फोर्टी फोर विधा एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने खेलाडीले खेल्ने स्पर्धा हो । पलेशा अन्तिम १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेकी हुन् । तर उनी क्वाटरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नाण्डेसँग १०–८ अन्तरले पराजित भइन् । अन्तिम ८ मा पराजित भएकी पलेशाले रिपाचेज अर्थात् कास्य पदकको प्रतिष्पर्धामा अवसर पाएकी थिइन् । त्यो प्रतिष्पर्धाका पहिलो खेलमा उनले फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ पराजित गर्दै कास्य पदक नजिक पुग्न सफल भइन् । कास्यको प्रतिष्पर्धामा उनले सर्वियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै इतिहास रचिन् । 

पलेशाको खेलयात्रा 

तेक्वान्दो खेलाडी पलेशा काठमाडौंको बागबजारमा हुर्किएकी हुन् । जन्मदै पलेशाको बायाँ हातको नाडीभन्दा तलको भाग छैन । अपांगता भएकी छोरीप्रति गरिने सामाजिक व्यवहारबाट बुबा प्रदिप र आमा मनिता केही समय चिन्तित थिए । तर उनीहरुले छोरीको जन्मसँगै जोडिएको अपांगतालाई कमजोरी भन्ने आभाष हुन दिएनन् । यसले गर्ली र भन्नेहरुलाई जवाफ दिनेगरी पलेशालाई हुर्काउन उनका बाबुआमाले कुनै कसर बाँकी राखेनन् । पलेशा १० वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्न थालेकी हुन् ।

 नेपाल तेक्वान्दो संघले पारा कमिटी गठन गरी खेलाडी पहिचान थालेपछि पलेशा औपचारिकरुपमा तेक्वान्दो खेलसँग जोडिएकी हुन् । कल्याण कुँवर पलशाको सुरुवाती चरणको प्रशिक्षक हुन् । पलेशाले २०१६ देखि पारा तेक्वान्दोको राष्ट्रिय टिममा प्रवेश पाइन् भने उनले पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको डेब्यू २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपबाट गरिन् । 

पहिलो अन्तराष्ट्रिय प्रतिष्पर्धामै उनी पाँचौ स्थानमा रहेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्दै पलेशाले अन्तराष्ट्रिय पदक यात्रा सुरु गरिन् । उनले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण पदक नै जितिन् । २१ वर्षकी पलेशाले आफ्नो सफलताबाट धेरै पारा खेलाडीको हौसला बढ्ने विश्वास लिएकी छन् । 

पारा ओलम्पिक २०२४ 

पलेशाको नाममा यसअघि पनि धेरै कीर्तिमानहरु छन् । उनी पारा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन् । गत वर्ष चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगितामा उनले के फोर्टी फोर विधाको महिला ७५ केजीमुनिको खेलमा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकको यात्रा तय गरेकी थिइन् । 

पलेशा एसियाली पारा खेलकुदमा पनि पदक जित्ने पहिलो र अहिलेसम्मकै एक्लो नेपाली खेलाडी हुन् । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा कास्य पदक जितेर पलेशाले एसियाली पारा खेलकुदमा समेत पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी हुन् । यसअघि जापानको टोकियोमा भएको पारा ओलम्पिक २०२० मा पनि उनले दुई बाउट जितेकी थिइन् । 

पलेशालाई हरेक जितहरुतर्फ उन्मुख गराउनमा प्रशिक्षक कविराज नेगी लामाको पनि ठूलो हात छ । कविराजले लामो समयदेखि पलेशालाई प्रशिक्षण दिदै आइरहेका छन् । ओलम्पिकका विभिन्न संरचनाहरुमा पदक जित्ने नेपाली खेलाडीका लागि सरकारले पुरस्कार राशीको व्यवस्था गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार ओलम्पिकमा कास्य जितेवापत् पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउनेछिन् भने उनको हौसला बढाउन विभिन्न संघसंस्थाहरुले पनि नगद पुरस्कार घोषणा गर्न सक्नेछन् । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update