News 24 Television
एन्फा महिला लिग : कोशीको विजयी शुरुवात

काठमाडौँ । एन्फा महिला लिग फुटबल आइतबारदेखि सुरु भएको छ । तीन विभागीय टोलीसहित १० टिमको सहभागिता रहेको लिगको उद्घाटन खेलमा कोशीले सानदार जित हासिल गर्दै विजयी शुरुवात गरेको छ । 

अखिल नेपाल फुटवल संघ (एन्फा)को आयोजनामा एन्फा महिला लिग फुटवल आइतबारदेखि शुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु भएको लिगमा तीन विभागीय टिम त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिससहित १० टिमको सहभागिता रहेको छ । लिगमा संकटा क्लब, बाग्मती युथ, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहभागी छन् ।
लिगको आइतबार भएको उद्घाटन खेलमा भने कोशी प्रदेशले वालिङ नगरपालिकामाथि ४–० को सानदार जित हासिल गर्दै विजयी शुरुवात गरेको छ । 

कोशीकी सैंजुमाया तामाङले खेलको १० मिनेटमा नै गोल गरी टिमको शुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० को अग्रता लिएको कोशीले दोस्रो हाफमा अरु तीन गोल थप्यो । खेलको ५१ मिनेट र ५९ मिनेटमा समीक्षा मगरले गोल गरिन् भने ६८ औं मिनेटमा प्रतिक्षा राईले प्रहार गरेको बल वालिङकी यमकुमारी विकले बचाउन सकिनन् । खेलको शुरुवातदेखि नै दबाबमा रहेको वालिङ नगरपालिका गोलविहिन हुन पुग्यो । 

लिगको दोस्रो खेलमा सोमवार सुदूरपश्चिम प्रदेश र बाग्मती युवा क्लव भिड्ने छन् । सुदूरपश्चिम एन्फा महिला लिग छनोट पार गरी आएको हो । 

दुई चरणमा हुने लिगको पहिलो चरण सिङ्गल राउन्ड रोबिनमा हुनेछ । सिङ्गल राउन्ड रोबिनमा शीर्ष पाँच स्थानमा रहने टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइनेछ । सुपर लिगमा २० खेल हुनेछन् । त्यसैले सुपर लिगमा सबै टोलीले एकले अर्काको सामना गर्नेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर, इलिमिनेटर र फाइनल भएपछि महिला लिग विजेताको छिनोफानो हुनेछ । 

प्रतियोगिताको कुल लागत दुई करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको छ । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार प्रदान गरिने छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update