News 24 Television
आज भाद्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन मनाइँदै छ । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । 

यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ । आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । 

रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । आजै  कुसेऔंसी पर्व पनि घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । 

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update