काठमाडौं । नेपाली राजनीतिका मुख्य नेताहहरुको प्रतिशोध मनोभावकै कारण पछिल्लो राजनीति प्रदूषित बन्दै गएको छ । जसले नेताहरुभित्रै अराजक र अदुरदर्शीता प्रकट हुन थालेका छन् । राजनीतिक संस्कार र व्यवहारले नै राजनीतिज्ञहरु जीवन्त हुनछन् ।
राजनीति मुलुक संचालनको निर्विकल्प संयन्त्र पनि हो । तर वर्षौँदेखि मुलुक र दलकै नेतृत्व गरिरहेका नेताहरु खुलमखुल्ला प्रतिशोधमा उत्रनु राजनीतिका लागि मात्रै होइन मुलुककै समस्या पनि बनेको छ ।
मुख्यतः दलहरुबीच मुलुक र जनताका आवश्यकताको विषयमा छलफल हुनुपर्ने हो । तर दलका नेताहरुमा यो विषयले प्राथमिकता नै पाउँदैन । खासगरी पछिल्लो समय सत्ताको नेतृत्व गरिरहेको दल एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीचको संघर्ष मुडभेदमै परिणत हुनसक्ने संभावना देखिन थालेका छन् ।
सांसद योगेश भट्टराईले संसदमै देखाएको यो हाउभाउ नितान्त प्रतिपक्षी दलप्रतिको प्रतिशोधप्रति समर्पित देखिन्छ ।
सत्ता पक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धाकै रुपमा रहेको विद्युत बक्यौता उठान र भ्रष्टाचारको विषय प्रतिपक्षी दलका नेता प्रचण्डले उठाउँदा योगेशले माओवादीले हिंसात्मक कार्य गरेको भन्दै फायर खोले ।
त्यसअिघ संसदमा सरकारलाई नै खबरदारी गर्न उभिएका प्रचण्डले सत्ता गठबन्धन र प्रधानमन्त्रीमाथि नै भ्रष्टाचारको संगीन आरोप लगाएका थिए ।
ओली सरकारमाथि भ्रष्टाचार र कुशासनको उपमा दिएलगत्तै प्रचण्डले संसदबाटै एमालेका अर्का नेता रघुजी पन्तको जवाफ भेटे ।
यही संसदको बैठकमा प्रयोग गरिएको माओवादी हिंसा भन्ने भाषाका कारण सत्ता पक्ष र प्रतिपक्षको लडाईँ अझ उत्कर्षमा पुगेको छ । उता माओवादीले निरन्तर विचौलिया र भ्रष्टहरुको संरक्षक भन्दै टिप्पणी गरिरहँदा एमालेले पनि सुन तस्करी प्रकरणको प्रशंग निकालेर माओवादी डाम्ने रणनीति लियो ।
माओवादी–एमाले प्रतिशोधकपूर्ण लडाइँमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली पनि मैदानमा उत्रिएका छन् । एकअकाविरुद्ध उछिटो काड्ने र मानमर्दन गर्न तल्लीन माओवादी–एमाले टकरावमा जनयुद्धको प्रशंक कोट्याउँदै ओली पनि मैदान उत्रिएका हुन् ।
ओलीको यो जवाफ प्रचण्डले संसदमा गरेको सम्बोधन र संसदमै उठेको माओवादी हिंसा भन्ने विषयको विवादसँग सम्बन्धीत छ । प्रचण्डले नेतृत्वहरुप्रति वितृष्णा जागेको प्रशंग निकालेर केही दिन अघि मात्रै नेपाल पनि बंगलादेश र श्रीलंगाको बाटोमा जानसक्ने भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । तर यसको जवाफमा ओलीले भने जनयुद्धमा माओवादीबाट १७ हजारको ज्यान लिइएको प्रशंगले प्रतिजवाफ दिएका हुन् ।
राजनीतिक नेतृत्वले मुलुकको समस्या समाधान र जनताको सेवामा ध्यान दिनुपर्नेमा हो । तर अहिले नेताहरु राजनीतिक संस्कार नै भुलेर एकअर्काविरुद्ध तुच्छ भाषामा अभिव्यक्ति दिनुले राजनीतिक स्तरमै मुडभेदको खतरा बढेको छ ।
दिनानुदिन बढेको माओवादी–एमाले वाकयुद्धले दुवै दलको कार्यकर्ता स्तरमासमेत वैरभाव पैदा हुन थालिसकेका छन् । तसर्थ अब कुनै पनि दलका नेतृत्वले एक–अर्कालाई नङ्ग्याउने भन्दा सभ्य भाषामा खबरदारी र प्रष्टिकरण दिनुपर्ने आवश्यकता देखिन्छ ।
यदी राजनीतिक संस्कार नै भुलेर यही शैलीमा एकले भ्रष्टाचारी र अर्कोले आतङ्ककारी भन्दै दोहारी चलिरहे राजनीतिक मुडभेद हुन नसक्ला भन्ने अवस्था छैन ।