News 24 Television
‘जनयुद्ध’ बहसको भित्री कारण के ? 

काठमाडौं । माओवादीले १० वर्ष लामो समय लडेको युद्ध जनयुद्ध, हिंसा, सशस्त्र संघर्ष वा अराजनीतिक कर्म के हो ?

यसमा तर्क वितर्क चल्न थालेका छन् । माओवादी नेताहरु यसलाई जनयुद्ध भनिरहेका छन् भने अन्य पार्टीका नेताहरु आफ्नो अनुकुल हुने गरि समयअनुसार बोली फेर्ने गरिरहेका छन्् । पछिल्लो समय यहि पेरिफेरिमा चलिरहेको विवादमा नेताहरुले विगतमा बोलेका विषय र अहिलेको सन्दर्भलाई लिएर चर्चा गर्न थालिएको छ । 

माओवादीले थालेको १० वर्ष लामो युद्धलाई कसरी सम्बोधन गर्ने ? शान्ति प्रकृया सम्पन्न भएको १८ वर्ष हुँदा पनि यसलाई विवादीत विषय नै बनाइएको छ । संविधानले माओवादी आन्दोलनलाई सशस्त्र संघर्ष भनेपनि माओवादीहरुले जनयुद्ध नै भन्ने गरेका छन् । तर, एमाले–कांग्रेसले भने यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषय सन्दर्भ र समयअनुसार गर्ने गर्छन् । 

एमाले नेतृत्वले माओवादी युद्धलाई जनयुद्धको रुपमा स्वीकार गरेपनि हिंसा भन्न छाडेको छैन् । प्रचण्डविरुद्ध आक्रामक पेश हुने क्रममा प्रधानमन्त्री केपी ओलीले १७ हजार मान्छे मारेको छु र भन्दै प्रश्न समेत गरेका छन् ।

उसोतः एमाले अध्यक्ष केपी ओलीले नै माओवादी युद्धलाई स्वीकार गर्दै पार्टी एकता नै गरेका थिए । त्यसपछि एमाले नेताहरुले माओवादी युद्धलाई चाहेर–नचाहेर जनयुद्धको रुपमा सम्बोधन गर्ने गरेको देखिन्थ्यो भने यसको बखान समेत गर्ने गर्थे । 

योगेश पछिल्लो समय संसदमा वेप्राह बोलेपछि आलोचनाको सिकार बनिरहेका छन् । कुनैबेला नेपाललाई परिवर्तन गर्न जनयुद्धले भूमिका खेलेको दाबी गरेका उनले अहिले संसदमा माओवादी युद्ध जनयुद्ध नभई हिंसा भएको विषय पटक–पटक दोहो¥याए । 

योगेशले यस्तो जिकिर गरेपनि उनको आलोचना चलिरहेको छ । योगेशले आफु मन्त्री बन्न एमाले अध्यक्ष केपी ओलीको चाकडी गरेको आरोप समेत लागिरहेको छ । तर, यसमा सत्यता कति छ त्यो भन्दा पनि नेताहरुले दिने असन्तुलित भाषणले भने पक्कै उनीहरुको विश्वसनीयतामाथि प्रश्न उठ्ने गर्छ ।

पूर्वमाओवादीको स्थिति वेहाल

नेकपा हुँदा एकै ठाउँमा रहेका केहि माओवादी नेताहरु एमालेमै रहे । एमालेमै रहेपनि युद्धलाई महान भन्ने उनीहरु एमालेपंक्तिले हिंसा दिवस भन्दै गर्दा उनीहरु मौन बस्नुपर्ने स्थितिमा पुगेका छन् । 

एमालेमै रहेका नेताहरु रामबहादुर थापा ’बादल, लेखराज भट्ट लगायतका नेताहरु लुक्नुपर्ने स्थिति आएलागेको देखिन्छ । एमालेमा रहेका उनीहरु जनयुद्ध भन्ने शब्द उच्चारण नै धक मान्दै गर्ने गर्छन् । 

एक कार्यक्रममा लेखराज भट्टले जनयुद्धबारे लिखित पुस्तकको विवेचनाको क्रममा नै लामो भाषणमा जनयुद्ध शब्द एक पटक मात्रै गरेका छन् । तर, माओवादी आन्दोलनप्रति उनले गर्व रहेको विषय भने स्वीकार गरेका छन् । 

उसोतः माओवादी छाडेर एमालेमा रहेका टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणका कारण जेलमा रहेकाले निलम्बनमा परेका छन् भने मणि थापा एमालेबाट निस्कासित भइसकेका छन् । 

तल्लो तहका नेताहरुले भने जनयुद्धलाई हिंसा शब्दले स्वीकार गर्न सकिन्न भन्ने आन्तरिक रुपमा छलफल गरेपनि बाहिर बोल्न सकेको देखिन्न । 

कांग्रेसको धारणा के ?

कांग्रेस माओवादी युद्धबारे मझधारमा बसेर बोल्ने गर्छ । माओवादीसँग चुनावी तालमेलदेखि भविष्यको सहकार्यलाई समेत हेरेर कांग्रेसले सन्तुलित भाषाको प्रयोग गर्न खोज्छ । 

यस्तोमा संक्रमणकालीन न्याय राष्ट्रपतिबाट प्रमाण्ीाकरण भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अब काटमार नहुने भन्दै सांकेतिक रुपमा विरोध गरेजस्तो गरेपनि माओवादी युद्धलाई हिंसाको रुपमा भने भनिसकेको देखिन्न । 

कांग्रेसका अन्य नेताहरुले समेत माओवादी युद्धबारे कमै टिप्पणी गर्छन् । सार्वजनिक रुपमा टिप्पणी गरेर स्थिति बिगार्नुभन्दा सहकार्यको बाटो हेरेर कांग्रेसले अभिव्यक्ति दिने गरेको देखिन्छ । 

संविधानले स्वीकारेको तथ्य 

संविधानको प्रस्तावनामै माओवादी युद्धलाई सशस्त्र संघर्ष भनिएको छ । माओवादी युद्धलाई कतैपनि अपराध वा हिंसाको स्थान नदिइएपनि कमजोर बन्दै गएको माओवादीलाई पछिल्लो समय अन्य राजनीतिक दलले होचोहेला गर्न थालेको देखिन्छ । संविधानले बोलेको तथ्यबाहिर गएर एमालेले पुर्ववर्ति विषयबाट ब्याक हुनुले राजनीतिक तुष र जनतामा नकारात्मक सन्देश दिनेबाहेकको स्थिति देखिन्न । 

माओवादी युद्धपछिका विभिन्न आन्दोलन र दलीय सहमतिबाटै नेपालमा परिवर्तन भएको तथ्यलाई लुकाउन गरिने राजनीतिक स्टन्टले मुलुकमा अमनचयन कायम हुन सक्दैन । त्यसमाथि संक्रमणकालीन न्याय टुङ्ग्याउने भन्दै टीआरसी विधेयकमा सहमति कायम गरि प्रमाणीकरण नै भइसकेको अवस्थामा आफ्नो दुनो सोझ्याउने ध्याउन्नमा शान्ति प्रक्रिया कार्यान्वयनलाई प्रभावित पार्ने र अशान्तिको विजारोपण गर्ने प्रवृति नेताहरुले रोक्नै पर्छ । शान्ति र समृद्धिको बाटो  पुनः अशान्ति मच्चाएर कदापी मिल्दैन ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update