News 24 Television
प्रादेशिक अस्पताल शिलान्याससँगै प्रदेश राजधानीको राजनीति 

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय शैया रहने भवनको शिलान्यास गरिएको छ ।

६ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्वपूर्ण आयोजनाको रुपमा रहेको छ ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले शनिवार भवनको शिलान्यास गर्दै बुटवको विकासको चर्चा गरेका छन् । 

लामो समयको प्रतीक्षा र लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको शनिवार शिलान्यास गरिएको छ । 

६ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुन लागेको लुम्बिनी प्रादेशिक अस्पताल १२ तले सुविधा सम्पन्न बन्नेछ भने १२ सय शैयाको क्षमताको हुनेछ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तरबृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास प्रदेश सरकारले नै अगाडि बढाएको थियो । 

प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्वपूर्ण आयोजनाको रुपमा रहेको छ । उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले शनिवार भवनको शिलान्यास गर्दै अब प्रदेशको राजधानी सारिएकोमा गुनासो नगर्न अपिल गरेका छन् ।

२०७६ सालमा तत्कालीन प्रदेश सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो । लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय शैयाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो । 

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० करोड बजेट समेत बिनियोजन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ । 

अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । 

सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । 

भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । कूल ७८५ वटा पाइलिङ गर्नुपर्नेमा ४९० पाइलिङ सम्पन्न भएको छ । 

वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । वि.सं. १९६७ फागुन १५ गते ६ शैयाबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना भारतीय चिकित्सक ल्याई अस्पतालको सेवा सुरू गरिएको थियो । 

दैनिक २५ सय बढी विरामीहरु आउने गरेको प्रादेशिक अस्पतालमा हाल ५ सय २० शैया छ । सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गरेका छन् । नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा ओपिडी, इमर्जेन्सी सेवा, इन्डोर सर्भिस कक्ष रहनेछन् । 

ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । 

क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ । 

हालको संरचनाबाट विस्तार गरि एक हजार दुई सय शैयामा बहु–अनुसन्धानात्मक अस्पतालको रुपमा स्तर उन्नति गर्न लागिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update