काठमाडौं । जलवायू परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिमलाई न्युनीकरण गर्ने तथा जिवाष्म इन्धन खपतको कटौती गर्ने उद्धेश्यले काठमाडौं विश्वविद्यालयले २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ ।
युरिया मल कारखानाको सञ्चालन, फलाम खनिजको प्रशोधन, तथा सिमेन्ट उद्योेगहरुमा कोइलाको विस्थापनका लागि समेत ग्रीन हाइड्रोजनको प्रयोग गर्ने गरी काठमाडौं विश्वविद्यालयले अनुसन्धान गरिरहेको छ ।
यहीबिचमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन गाडीको उद्घाटन गरिएको छ । लामो समयको अनुसन्धान पश्चात स्थापित हाइड्रोजन रिफ्युलिङ स्टेशनको उद्घाटनपश्चात नेपाल हाइड्रोजन युगमा प्रवेश गरेको मान्न सकिने भएको छ ।
काठमाडौं विश्वविद्यालयद्धारा नेपाल आयल निगमको सहयोगमा स्थापित नेपालको पहिलो ग्रीन हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
सरकारले आवश्यक पर्ने नीति नियमहरुको तर्जुमा गर्दै हाइड्रोजन प्रविधिलाई व्यावसायिक प्रयोजनमा सकेसम्म चाँडो लैजाने प्रतिबद्धता प्रधानमन्त्री ओलीको छ ।
गत चैतमा नै केयूले हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरेको थियो । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट पहिलो पटक कार गुड्न सफल भएपछि यसलाई महत्वपूर्ण सफलताका रुपमा लिइदै आइएको छ ।
केयूले ‘उत्पादन–भण्डारण–वितरण’ मोडेलमा यो परियोजना बनाएको छ, जसको प्राविधिक नाम ‘अन साइट ग्रिन हाइड्रोजन प्रडक्सन एन्ड रिफ्युलिङ’ हो । विश्वविद्यालयले यसअघि नै दक्षिण कोरियाबाट हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याएको थियो ।
नेपालमै उत्पादित हाइड्रोजनले कार गुड्न सफल भएसँगै अब व्यावसायिक उत्पादनमा समेत लैजान सकिने सम्भावना बढेको अपेक्षा गरिएको छ । काठमाडौं विश्वविद्यालयको अनुसन्धानले हाइड्रोजनको प्रयोग मार्फत उद्योेगहरुमा प्रयोग हुने जीवाष्म इन्धनको प्रतिस्थापन हुने सम्भाव्यतालाई प्रमाणित गरिसकेको छ ।
ग्रीन हाइड्रोजनको फाइदा
– ग्रीन हाइड्रोजनको उत्पादनमा नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग हुन्छ, जसले ग्रीनहाउस ग्याँसको उत्सर्जनलाई कम गर्छ र जलवायु परिवर्तनको असरलाई घटाउँछ ।
– ग्रीन हाइड्रोजनको उत्पादनका लागि ‘फोसिल’ इन्धनको आवश्यकता पर्दैन । त्यसैले यो दीर्घकालीन र सतत ऊर्जा स्रोत हो ।
– हाइड्रोजनलाई उच्च ऊर्जा घनत्वसँग भण्डारण गर्न सकिन्छ, जसले दीर्घकालसम्म ऊर्जा संचय गर्न र पछि उपयोग गर्न मद्दत पुर्याउँछ ।
– ग्रीन हाइड्रोजनलाई उद्योग, यातायात, र ऊर्जा भण्डारणमा प्रयोग गर्न सकिन्छ ।
– ग्रीन हाइड्रोजनको उपयोगले देशहरूलाई ऊर्जा आपूर्तिमा आत्मनिर्भर बनाउँछ ।
– ग्रीन हाइड्रोजनको माग बढ्नाले नवीकरणीय ऊर्जा उत्पादनमा वृद्धि गर्न सक्छ ।
नेपाल सरकारले उर्जा मन्त्रालयमार्फत काठमाडौं विश्वविद्यालयका विज्ञ प्रतिनिधि समेत संलग्न कार्यदल गठन गरी राष्ट्रिय हाइड्रोजन नीति २०८० पारित गरिसकेको छ ।
यस नीतिलाई व्यावसायिक परियोजनाहरुमा कार्यान्वयन गर्नका लागि आवश्यक एैन, नियम, निर्देशिका, र कार्यविधिमा निर्माणको क्रममा छन् । तर, हाइड्रोजन इन्धन कानुनी रुपमा पहिचान नै नभएका कारण विश्वविद्यालको चौरमा परीक्षण सफल भएको गाडी दर्ता हुन सकेको छैन । साथै हाइड्रोजन गाडीको आयात, दर्ता, नम्बर प्लेटसम्बन्धी पनि कानुनी व्यवस्था छैन । केयूको हाइड्रोजन कार पनि दर्ता भएको छैन ।
हुनत, सरकारले पनि हालै ग्रिन हाइड्रोजन नीति ल्याएको छ । जसमा पेट्रोलियम पदार्थको विकल्पदेखि रासायनिक मल स्थापनामा प्रोत्साहन गर्नेसम्मका विषय समेटिएका छन् । यसमा पेट्रोलियम पदार्थको परनिर्भरता हटाएर आन्तरिक उत्पादन प्रोत्साहन गर्ने सरकारको योजना छ ।
हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण हरित ऊर्जामा नयाँ अध्याय भएपनि राज्यले कस्तो नीति लिन्छ, त्यसमा पनि भर पर्छ ।