काठमाडाैँ । सरकारद्वारा १७ देशका लागि प्रस्तावित राजदुतहरुमाथि परेका उजुरीहरुबारे छलफल सुरू भएको छ । शुक्रवार संसदीय सुनुवाई समितिमा उजुरीकर्ताहरुले गरेका उजुरीमाथि छलफल सुरू भएको हो ।
आजको बैठकमा ६ जना उजुरीकर्ताहरुले राजदुतउपर उजुरी दिएका थिए । त्यसमध्ये ५ जना उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको हो । उजुरीकर्ताहरुमा उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल र एक जना उजुरीकर्ता नम्बर ६ रहेकाे समिति सभापति ईश्वरीदेवी न्यौपानले बताइन् । उनले एक जना उजुरीकर्ताले नाम गोप्य राख्न चाहेले नखुलाइएको र अर्का एक जना उजुरीकर्ता कारणवश आउन नसकेकाे उनले बताइन् ।
उनले भनिन्, ‘आज राजदुतहरुको सुनुवाई शुरु गरेको प्रक्रियाको दोस्रो दिन हो । आज उजुरीकर्ताहरुलाई बोलाएका थियौँ । ९ वटा उजुरी परेकोमा ६ जना आउने कुरा गर्नुभएको थियो । एक जनाको गोप्य थियो । १ जना कारणवश आउन सक्नुभएन । ५ जना उजुरीकर्ताहरु यहाँ आएर आफ्ना उजुरीहरुको सम्बन्धमा त्यसलाई पुष्टि गर्नुभएको छ । उज्वलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइँकेल, उजुरीकर्ता नम्बर ६ रहेको छ । उहाँले आफूलाई गोप्य राख्न अनुरोध गर्नुभएका कारणले समितिले उहाँको नामहरु गोप्य राखेको छ । अर्को बैठक १६ गते बस्नेछ ।’
समितिको बैठकमा उजुरीकर्ता उज्वलकृष्ण श्रेष्ठले १७ देशका लागि सिफारिस राजदुतहरु वाणिज्य दुतमात्रै भएकाले र राजदुतमा सिफारिस व्यक्ति योग्य, अनुभवी र राजनीतिक तथा कुटनीतिक क्षमता एवं ज्ञान नभएकाले फिर्ता गर्नुपर्ने बताए । उनले राजदुत नियुक्ति समानुपातिक र समावेशी नभएकाले पनि फिर्ता गर्नुपर्ने बताए ।