News 24 Television
टान नेतृत्वका लागि सागर पाण्डे समूहको प्यानलसहित उम्मेदवारी  

काठमाडौं । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नयाँ नेतृत्व पाउँदै छ। टानको नयाँ कार्यसमितिका लागि यही भदौ १७ गते निर्वाचन हुने भएको हो । नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । 

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेद्वारी दिएका छन् । त्यस्तैगरी महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दिएका छन्।

त्यस्तैगरी सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षका प्रत्यासी पाण्डेले टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्  ।  त्यस्तै ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने नियन्त्रित पदमार्गको अनुमतिमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको पाण्डेको भनाइ छ । यस्तै, पर्यटक सवारी साधान खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराइने, वैकल्पिक पदमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिने घोषणा गरेका छन् । 

अध्यक्षका प्रत्यासी पाण्डेले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकका साथ उठान, पर्यटन ऐनलाई समयसापेक्ष बनाउने, ‘एक्सपेरियन्सल टुरिजम’को विकास, अन्तर्राष्ट्रियस्तरका विभिन्न तालिमसम्बन्धी पाठ्यक्रम सञ्चालन, पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्यमा जोड दिइने घोषणा पनि गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update