News 24 Television
पर्यटक लोभ्याउँदै दोलखाको सुन्द्रावती झरना

दोलखा । दोलखा प्राकृतिक सुन्दरताले भरीपूर्ण जिल्ला हो । यहाँ गौरीशंकर हिमाल, कालिञ्चोक भगवती, भिमेश्वर मन्दिर, शैलुङ्ग डाँडा, जिरी, च्छोरोल्पा हिमताल, तामाकोशी बगर लगायत दर्जनौ धार्मिक तथा पर्यटकिय स्थलहरु रहेका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण दोलखा देशकै प्रमुख पर्यटकिय गन्तव्य बन्ने प्रचुर सम्भावना रहेको छ । यहाँ रहेका धेरै पर्यटकिय सम्भावना बोकेका ठाउँहरु अझैपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । ती मध्येको एक हो, कलिञ्चोक गाउँपालिकाको वडा नम्बर ९ मा रहेको सुन्द्रावती कुण्ड । सुन्द्रावतीमा छनछन झरनाको कलकल बगेको पानी देख्दा जो कोहिको पनि मन लोभ्याउने गर्दछ । प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको सुन्द्रावती कुण्डमा बाटोघाटो निर्माण गर्ने र प्रचारप्रसार गर्ने हो भने जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । 

सदरमुकाम चरिकोटबाट डेढ दुई घण्टामै पुग्न सकिन्छ सुन्द्रावती कुण्ड । सात कुण्डहरुको संगम सुन्द्रावती कुण्ड भिमेश्वर नगरपालिकाको वडा नम्बर १ र कालिन्चोक गाउपालिकाको वडा नम्बर ९ को सिमानामा पर्दछ । चरिकोटबाट सुन्द्रावती कटुवाचौरबाट उकालो लाग्नुपर्छ । कटुवाचौरको हरियाली र सुन्दर फाँटका गह्राहरूले झन् मनलाई आनन्द दिन्छ । प्राकृतिक सुन्दरताको साथै धार्मिक दृष्टिकोणले झन् महत्वपूर्ण मानिन्छ सुन्द्रावती कुण्ड । सुन्द्रावती कुण्डमा शुद्ध मन भएकाले नोट या सिक्का पैसा चढाउँदा भित्र जाने र मन अशुद्ध भएकाहरुले चढाउँदा बाहिर निस्की बगाएर लैजाने जनविश्वास रहिआएको छ । त्यस्तै लैनो गाईको दुध चढाउदा भित्र जाने र बकेर्नो गाईको दूध चढाउदा बगेर जाने विश्वास पनि यहाँका स्थानीय गर्छन् । 

सुन्द्रावती सेतीदेवी कुण्डको नामले पनि परिचीत छ । एकै पहरामा गणेश कुण्ड, भगवती कुण्ड, दुध कुण्ड, काम्लुङ्ग कुण्ड, खड्कुले कुण्ड लगायतका कुण्डहरु रहेका छन । यिनै कुण्डहरु मध्येको भगवती कुण्डलाई चमत्कारी कुण्डको रुपमा लिइने गरिएको छ । पहिले पहिले यस कुण्डमा विभिन्न चाडपर्वमा भाडाकुडाहरु उत्पत्ति हुने र स्थानीयले भोज भतेरमा भाँडाको काम साकिए पछि राम्रोसँग मस्काएर फिर्ता गर्ने गर्थे भन्ने जनश्रुति छ । तर एकपटक नमाझिकन् भाडाकुडा झुठै लगेर कुण्डमां राखिदिएकोले दिन देखी यस कुण्डबाट भाडाकुडा उत्पत्ति हुन छाडेको स्थानीय विश्वास गर्छन् । 

कात्तिकमा हरिबोधनी एकादसीका दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ । दोलखा जिल्ला भित्रका भक्तजनहरु यस स्थानमा बत्ति बालेर फुल तार्न आउने गर्दछन् । अफ्ट्यारो बाटो र थकान मार्नको लागि प्रतीक्षालय लगायतका पूर्वाधार नहुँदा झरनासम्म पुग्न पर्यटकहरुलाई निकै कठिन हुने गरेको छ । बाटोको सुबिधा, प्रतीक्षालयको व्यबस्थाका साथै यहाँ रहेका होटेल, होमस्टेहरुलाई व्यवस्थित र सहज बनाउनको लागी भिमेश्वर नगरपालिका र कालिन्चोक गाउँपालिकाले सहकार्य गर्दै ध्यान दिने हो भने सुन्द्रावती दोलखाको अर्को छुट्टै पहिचान बोकेको अत्यन्तै मनमोहक पर्यटन स्थल बन्ने निश्चित छ ।

वर्षा याममा कुण्डबाट निस्किने झरनाको दृश्यले जो कोहिलाई मोहित बनाउँछ । हुन त हिउँद र वर्षायाम जुनसुकै समयमा पनि सयौं धार्मिक तथा अन्य पर्यटकहरू पुग्ने गर्छन् । वर्षाको सिजनमा भने रंगीविरंगी फूलहरू र जडिबुटीहरू बाटैभरि देख्न पाइन्छ । यस क्षेत्रको विकास र प्रचारप्रसार हुन सके सुन्द्रवती कुण्ड पर्यटकहरुको उत्कृष्ट गन्तब्य बन्ने निश्चित छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update