News 24 Television
सुर्खेतीको प्यास मेटाउन भेरी पम्पिङ आयोजना 

सुर्खेत । पछिल्लो समय तीव्ररुपमा जनघनत्व बृद्धि भइरहेको सुर्खेत उपत्यकामा खानोपानीको समस्या चुलिदो क्रममा छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको खानेपानी समीया हल गर्न बहुचर्चित भेरी पम्पिङ आयोजना निर्माणका लागि सम्झौता भएको । यो सम्झौतासँग खानेपानीको समस्या भोगिरहेका उपत्यकाबासीमा आशा पलाएको छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा भेरी खोलाको पानी ल्याउन भेरी पम्पिङ खानेपानी आयोजना’ को ठेक्का सम्झौता भएको छ । आयोजनाको वीरेन्द्रनगर परियोजना कार्यान्वयन इकाई र निर्माण कम्पनी झेजिङ्ग टिम्स् इन्टर नेश्नल इकोनमिक एण्ड टेक्नीकल को–अपरेशन प्रा.लि.बीच बुधबार सम्झौता भएको हो । आयोजनाका तर्फबाट आयोजना प्रमुख संजिबकुमार शाह र कम्पनीका तर्फबाट कम्पनीका आधिकारिक प्रतिनिधि शुशिलकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

दुई चरणमा सम्पन्न हुने उक्त आयोजनामा पहिलो चरणको निर्माण कार्यका लागि गतबर्ष असोज १२ गते ठेक्का आह्वान भएको थियो । तर ठेक्का आह्वान भएको ठीक ११ महिनापछि मात्रै सम्झौता भएको छ । २४ प्रतिशत घटेर प्रस्ताव पेश गरेको चाइनिज कम्पनी झेजिङ्गले जम्मा ३ अर्ब ५ करोड ८ लाख १५ हजार २ सय ८० रुपैँयामा आयोजना सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । आर्थिक प्रस्ताव पेश गरेका पाँच वटा मध्य झेजिङ्गले सबै भन्दा कम रकम प्रस्ताव गरेको आयोजनाका प्रमुख शुशिलकुमार शाहले जानाकरी दिए । 

पहिलो चरणमा भेरीको पानी ४०० मिटर उचाइमा ल्याएर त्यहाँ निर्माण गरिने प्रशोधनशाला ट्रिटमेन्ट प्लाण्टमा प्रशोधन गरी त्यहाँबाट करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्यांकमा खसालिने छ । त्यस्तै ३५ किलो मिटर मुख्य पानी प्रसारण लाइन विस्तार पनि पहिलो चरणकै सम्झौता अनुसार गरिनेछ । 

संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीयतहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत भेरीको पानी पम्पिङ गरी सुर्खेत उपत्यकामा ल्याईनेछ । भेरी पम्पिङ आयोजना वीरेन्द्रनगर नगरपालिकाको पहिलो प्राथमिकताको आयोजना भएकाले समयमै सम्पन्न गर्न स्थानीय स्तरबाट सम्पूर्ण सहयोग रहने नगर प्रमुख मोहनमाया ढकालले बताइन् । नगर प्रमुख ढकालले समयमै आयोजना सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनी र आयोजनालाई आग्रह गरेकी छन् । 

सम्झौताअनुसार आयोजना निर्माण अवधि तीनबर्षको रहेको छ भने निर्माणपछि तीनबर्षसम्म सञ्चालनको जिम्मेवारी पनि निर्माण कम्पनीकै हुनेछ । तीनबर्ष सञ्चालन गरि सकेपछि नगरपालिकालाई आयोजना हस्तान्तरण हुनेछ । आयोजना सम्पन्न नहुञ्जेलसम्म अहिलेकै संरचनाबाट खानेपानी वितरण गरिनेछ । स्थानीय सरोकारवालाहरुको सहयोग भए समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी झेजिङ्गका आधिकारिक प्रतिनिधि शुशिलकुमार श्रेष्ठको भनाइ छ । 

दोस्रो चरणमा वितरण प्रणालीको काम गरिने छ । वितरण प्रणालीको अहिले डिपिआरको काम भैरहेको र दुई तीनमहिला भित्रै दोस्रो चरणको लागि पनि ठेक्का खोलिने आयोजनाले जनाएको छ । वीरेन्द्रनगरमा अत्यधिक बढ्दो जनघनत्वका कारण यहाँ खाने पानी मुख्य समस्याका रुपमा लामो समयदेखि रहँदै आएको छ । हालको जनसंख्याका लागि वीरेन्द्रनगरमा प्रतिसेकेन्ड तीन सय २० लिटर पानी आवश्यक पर्छ । तर हाल आपूर्ति भने प्रति सेकेन्ड एक सय ५३ लिटर मात्रै भइरहेको छ । 

यही आपूर्ति पनि खडेरीको समयमा ५० प्रतिशत घट्ने गरेको छ । अहिले खानेपानी आपूर्ति व्यवस्थापन गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । गर्मीयाममा ९६ घण्टामा एक दिन पानी वितरण हुने गर्दछ । संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खाने पानी वितरण गर्दै आएको छ । अझैं यहाँ १८ हजार बढी खानेपानी धारा अपुग छन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजना समयमै सम्पन्न गरी वीरेन्द्रनगरवासीको प्यास मेटाउनुपर्ने बताए । 

अबको तीस बर्षसम्म बृद्धि हुने जनसंख्यालाई सहजै पानी पु¥याउने गरी डिजाइन गरिएको भेरी पम्पिंग आयोजना संभवत मेलम्ची पछिको दोस्रो ठूलो आयोजना हो । 

साथै संघीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा स्थानीय तहले पाएको यो ठूलो लगानीको आयोजनामा पर्दछ । यो आयोजना पहिलोपटक संघ, प्रदेश र स्थानीयतहको साझेदारीमा सञ्चालन हुँदैछ भने लिफ्टिङ गरि सञ्चालन गरिने अहिलेसम्मकै ठूलो आयोजना भएको हुँदा यसलाई विशेष रुपमा हेरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update